राजनीति

उपेन्द्र यादब र राजपा समेत काँग्रेसको नजिक देखिएपछि माओबादी काँग्रेससंग थप लचक, एमाले टाढिदै

निशेष खनाल
काठमाण्डौ । राष्ट्रिय सभाको चुनाव एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनुपर्छ भन्ने अडान काँग्रेसको अडान यथावत छ । 

सरकारले नेपाली काँग्रेसको धारणा अनुसार उसको बिचारलाई राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष पेश समेत गरेको छ । पछिल्लो समयमा उक्त प्रणालीमा माओबादी केन्द्रले समेत लचकता देखाएको छ । काँग्रेसलाई मधेशबादी दलको रुपमा स्थापीत उपेन्द्र यादबले नेतृत्व गरेको संघीय समाजबादी पार्टीले पनि खुलेरै समर्थन गरेको छ ।

राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने अडान सरकारको रहेको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अनिर्णित अवस्थामा रहेको छ । अध्यादेश पारित भएपछि राष्ट्रिय सभाको निर्वाचन र सरकार निर्माणमा बाटो खुल्ने संबैधानीक ब्यबस्था छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा शक्तीसाली बनेको नेकपा एमालेले एकल संक्रमणीय निर्वाचन असंवैधानिक भएको र राष्ट्रपतिले यसलाई पास गर्न नहुने भन्दै असहमति जनाउँदै आएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहिदिन अगाडि राष्ट्रपति भण्डारीलाई भेटेर बिधेयक पास नगर्न दबाब दिएका थिए ।

मंगलबारको राजनीतिक बिकासक्रममा राजपा र संघीय समाजबादी फोरमले काँग्रेसको एकल संक्रमणीय प्रणालीलाई नै साथ दिने संकेत देखिएपछि सरकारमा समेत एमाले बाहेकको गठबन्धन बन्ने हो कि भन्ने समबना बलियो देखिदै गएको छ ।

पार्टी एकता गर्ने सहमति गरेको माओवादी केन्द्र, एमालेको अध्यादेश बिरुद्धको एजेण्डासंग सहमत देखिँदैन । एकल सक्रमणीय निर्वाचनका विषयमा माओवादी केन्द्रले सोमबार बसेको पेरिसडाँडा बैठकबाट आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । केन्द्रले काँग्रेससंग टाढा गएर काम गर्न नसकिने बिचार अगाडि सारेको छ ।

एमाले–माओवादी विवाद बढ्ने संकेत

प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा तालमेल गरेर निर्बाचनमा गएर प्रगति समेत हाँशिल गरेका एमाले–माओवादीबीच मत बाझिन थालेको छ । एमाले अध्यक्ष केपी ओली आफ्नो अडान नछोड्ने मनस्थितिमा छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लगाम लगाउने खोजे पनि दाहाल सतर्क देखिन्छन् ।
किनभने प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा रहेका विनाविभागिय मन्त्री फिर्ता नबोलाउनुले दाहाल काँग्रेससँग निरन्तर सम्पर्कमा रहेको देखाउँछ । उनी कही कतै एमालेले धोका दिएमा काँग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने मनस्थिति बनाइसकेका छन् ।
पार्टी एकताका बिषयमा पनि सरकार गठन हुनु भन्दा अगाडि नै पार्टी एकीकरण हुनुपर्ने भन्ने कुरामा पार्टीका सिनियर नेताहरुले छलफल गरेको प्रवक्ता पम्फा भुषालले बैठकपछि बताएकी थिईन् ।

केही दिन अघि प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर अध्यक्ष दाहालले गोप्य सहमति गरिसकेका छन् कि भन्ने आशंका पनि राजनीतिक बृतमा त्यतीकै चलिरहेको छ । देउवाले दाहाललाई प्रधानमन्त्री बन्न अफर गरेका र केही दिन पर्खन देउवालाई दाहालले आग्रह गरेको स्रोतको दाबी छ । उनले बाहिरि पत्रकारहरुसंग कुरा गर्दा भने बाम गठबन्धनको पक्षमा नै बोलेका थिए । उनले देउवासंग अस्वीकार गरेको भनिएपनि प्रधानमन्त्री पदको आकांक्षा भने राखेको दाहाल निकट स्रोतको दाबी छ । अहिले पार्टी एकता गर्न लागेको एमाले भड्किने अवस्था आएकाले देउवासँग भएको सहमति बाहिर नल्याएको बताईन्छ ।
अब एमाले सतर्क नभइ जथाभावी बोल्दै हिंडेमा ठुलो मूल्य चुकाउने प्रष्ट भइसकेको छ ।
एमालेले माओवादीसँग मिलेर सहमतिय सरकार बनाउने बताए पनि माओवादी भने सतर्क भइसकेको छ । किनभने यो भन्दा अगाडि पनि माओवादीले एमालेबाट धोकाको स्वाद चाखिसकेको छ । एमालेले पार्टी एकता लगायतका बिषयमा माओबादी केन्द्रलाई भाबनात्मक रुपमा नसमेटे काँग्रेससँग मिलेर सरकार बनाउने बिचार यथावत राखेको देखिन्छ ।

एमाले महासचिव ईश्वर पोखरेलले केही दिन अघि पार्टी एकतापछि प्रधानमन्त्री, अध्यक्ष र संसदिय दलको नेतासमेत ओली नै बन्ने बताएपछि माओवादी चनाखो भएको छ । पोखरेलको अभिव्यक्ति आएपछि ओलीलाई भेटेर दाहालले सचेत गराएका थिए । भड्किलो अभिव्यक्ति दिएका एमाले नेताका कारण माओवादी काँग्रेससँग झन नजिक भइसकेको छ ।

भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा, एमाले र माओबादी केन्द्रको सीट संख्या जोड्दा स्पष्ट बहुमत पुर्याएका यी दुई ठूला दलमध्ये भारतले पुष्पकमल दाहाललाई प्रधानमन्त्री रुचाएको देखिन्छ । काँग्रेसमार्फत अनौपचारिक रुपमा दाहाललाई प्रधानमन्त्री बन्न अफर गरेकाले ओली भारतको रोजाइमा परेका छैनन्, कि भन्ने प्रश्न समेत राजनीतिक बृतमा चर्चा चलिरहेको छ । यता मित्रराष्ट्र चीन र भारत दुबैले निर्बाचन सफल भएकोमा नेपाल सरकरलाई धन्यबाद दिएका छन् ।