पु.समाचार

तराईमा शीतलहरबाट जनजीवन अस्तब्यस्त, चार दिनदेखि कष्टकर जिबन बिताउन बाध्य

कलैया । यही मंसिर २९ गतेदेखि शुरु भएको शीतलहरले बारा जिल्लाको जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले जिल्लाको सदरमुकाम कलैयाको जनजीवन चार दिनदेखि प्रभावित भई चहलपहलमा कमी आएको छ ।

कुहिरो र शीतलहरसँगै चिसो हावा चल्ने गरेकाले हाटबजार तथा कार्यालयमा सर्वसाधारणको उपस्थिति कमी हुनाका साथै विद्यालयमा छात्रछात्राको उपस्थितिमा पनि कमी आएको छ ।

निरन्तर चिसोका कारण कलैया अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियामा बिरामीको संख्या बढेको कुरा पनि अस्पतालबाट थाहा भएको छ । बाक्लो हुस्सुले गर्दा सिमरा विमानस्थलमा पुस १ र २ गते विमान अवतरण हुन नसकेको बताइएको छ ।

शीतलहरले गर्दा बालबालिका, वृद्धवृद्धालाई समेत ठूलो समस्या परेको र जोगाउन कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले सोमबार कलैयास्थित अमृता अनाथाश्रमका बालबालिकालाई न्यानो कपडासमेत वितरण गरेका थिए ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाराले शीतलहर प्रभाव कम गर्न र यसबाट बच्न जिल्लावासीमा सूचना प्रवाह गरी अनुरोधसमेत गरेको जनाएको छ ।