राजनीति

दुई तिहाई ल्याएर फुर्किएको एमालेलाई काँग्रेस नेता भण्डारीले यसरी ठिक पारे

काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एमालेलाई चर्का कुरा गर्दा विपीको १८ महिने कार्यकाल सम्झिन आग्रह गरेका छन् ।

मंगलबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता भण्डारीले नेपालमा चर्का कुरा गरेर केही पनि नहुने भन्दै एमालेलाई चर्का कुरा गर्नुपूर्व विपी कोइरालाको १८ महिने कार्यकाललाई सम्झिन आग्रह गरेका हुन् । उनले भने, ‘विपीले दुई तिहाई ल्याएको बेला सम्झिनको लागि म अहिले बहुमत ल्याएका दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु ।’

भण्डारीले राष्ट्रपति विद्या देवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने समेत बताए । उनले थपे, ‘राष्ट्रपतिले उक्त अध्यादेश होल्ड गर्न मिल्दैन, प्रधानमन्त्रीले गरेको काममा राष्ट्रपतिले कुनै अमुक पार्टीको नेताले भन्दैमा रोक्न मिल्दैन ।’

संविधान जारी गर्दा नै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी दलहरुवीच एकल संक्रमणीय व्यवस्थामा सहमति भएको उनले जिकिर गरे । यद्धपी त्यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोध जनाएको उनको स्विकारोक्ति थियो ।

उनले आफूहरु सरकार छोड्न आतुर रहेको समेत स्पष्ट पारे । भण्डारीले थपे, ‘हामी सरकार छोड्न आतुर छौं, वाम गठबन्धनबाट ओली र प्रचण्ड जो प्रधानमन्त्री बनेपनि फुलमालाले स्वागत गर्न हामी आतुर छौं ।’ उनले चुनाव जितेको मान्छेले दम्भ गर्न नहुनेतर्फ सचेत गराउँदै भने, ‘सभ्य भएर बोल्नुपर्छ, बोलीमा लगाम लगाउनुपर्छ, यसो भयो भनेमात्रै मुलुक र जनताको भलो हुन्छ ।’

उनले सबै दल मिलेर जारी गरिएको संविधान कार्यान्वयनको चरणमा रहेकोले सबै दल मिलेर जानुको विकल्प नभएको समेत स्पष्ट पारे । उनले भने, ‘संविधान कार्यान्वयन गर्नपनि फुट्नु भन्दा पनि जुट्नुपर्छ ।’

फरक प्रसंगमा उनले वाम गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ५ वर्ष सरकार चलाउनेगरि प्रधानमन्त्रीको अफर कांग्रेसले गरेको भन्ने कुरा मिडियामा आफूले सुनेको उल्लेख गर्दै भने, ‘मुलुकलाई अब न्याचुरल कोर्समा जान दिनुपर्छ, त्यस बाट गलत गरियो भने बद्मासी हुनसक्छ, नेपाल अड्किएको छ भन्ने कुरा हेरेरमात्रै अघि बढ्नुपर्छ ।’