राजनीति

पार्टी अध्यक्ष दाहाललाई नदिए माधव नेपालले वाम एकता भाँड्ने

काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी अध्यक्ष दिनुपर्ने धारणा राखेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत आफैं बन्ने प्रयासमा रहेका केपी ओलीको कारण एमालेप्रति माओवादी सशंकित बनिरहेको बेलामा एमाले नेता नेपालले भने माओवादी अध्यक्ष दाहाललाई पार्टी सभापति दिनुपर्ने तर्क गरेका हुन् ।

यस अघि सहमति भए बमोजिम दाहालको नेतृत्व आफूहरुले स्वीकार्नुपर्ने तर्क एमाले नेता नेपालले गरेका हुन् । काठमाण्डौमा पत्रकारहरुसँगको कुराकानीका क्रममा नेता नेपालले एमालेले आफ्नो पार्टीको नीति भने छाड्न नहुने तर्क गरेका छन् ।

उनले पार्टीको नीतिगत आधार जनताको बहुदलीय जनवाद रहेको बताएका छन् भने दाहालको नेतृत्व स्वीकार्न एमाले तयार हुनु पर्ने धारणा व्यक्त गरे ।

उनले भने ‘पुष्पलाल सबैको साझा नेता हो, मनमोहन सर्वस्वीकार्य नेता हो, मदन भण्डारी सबैको साझा नेता भइसक्नुभयो, मान्दिन भनेर हुन्छ ? पुष्पकमल दाहालजीको योगदानलाई एमालेले नमानेर हुन्छ ? कसैले कसैलाई नमान्ने हो भने एकतामा समस्या पर्न सक्छ ।’

पुत्र प्रकाश दाहालको निधन भएपछि नेपाल दाहालसँग नजिकिएका छन् । उनी दाहाल जाने हरेका चुनावी सभामा सँगै हिँडेका थिए ।

साथै उनले आफूले चाहेको भए यस भन्दा अघि नै आफू राष्ट्रपति बन्न सक्ने भन्दै आफू अहिले तत्कालै राष्ट्रपति बन्ने सोचमा नरहेको बताएका छन् । उनले आफू ७० वर्ष नाघेपछि मात्रै राष्ट्रपति तिर ध्यान दिने बताए ।