राजनीति

ओली रसुवागढी उडे लगत्तै पार्टी एकताबारे बोले दाहाल

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले गरेको निर्णयलाई लुवै पार्टीका नेता, कार्यकर्ता र राष्ट्रले अनुमोदन गरिसकेको बताएका छन् ।

मंगलबार युवा संघ नेपालका पदाधिकारीहरुबाट बधाई ज्ञापन ग्रहण गरेपछि भर्खरै सम्पन्न प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा जनताले बहुमत दिएकाले दुई तिहाई ल्याउन सफल भएको बताएका छन् ।

‘यो पटकको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको पहिलो निर्वाचन हो । त्यसैले हामी सबै खुशी र गर्वको कुरा त थिँदै थियो । त्यसमाथि अब नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले निर्वाचनमा वाम गठबन्धनको तर्फबाट एमाले र माओवादी केन्द्रले साझा उमेदवार र घोषणापत्र सार्वजनिक गर्‍यौं । हामी झन्डै दुई तिहाई बहुमतको नजिक छौं’, उनले भने, ‘केपी ओली र मेरो पहलमा भएको पार्टी एकता र चुनावी तालमेललाई दुवै पार्टीका नेता तथा कार्यकर्ता र राष्ट्रले पनि अनुमोदन गरिसक्यो । हामी यसलाई निष्कर्षमा पुर्‍याएर औपचारिक रुप दिन मात्र बाँकी छ । हामी त्यसमा प्रतिबद्ध छौं ।’

उनले अब देशको राजनीति युवाहरुको काँधमा छोडेर जानेसमेत बताए । उनले भने, ‘देश अब युवाहरुको हातमा आउँदैछ, हाम्रो चाहना के हो भने एउटा यस्तो परिस्थिति बनाएर देश जिम्मा लगाएर जाउँ । हामीले बाटो कोर्दिने मात्र हो ।’

एमाले अध्यक्ष ओली आज चिनसँग सिमा जोडिएको रसुवागढी पुगेका छन् ।