पु.समाचार

नेपालको निर्वाचन विश्वकै नमूनाः प्रमुख निर्वाचन आयुक्त यादव

ओखलढुंगा । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन विश्वकै नमूना भएको बताएका छन् ।

मंगलबार ओखलढुंगा सदरमुकाममा आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले एक साथ दुवै निर्वाचन सफलताका साथ सम्पन्न हुनु विश्वमै नमूना निर्वाचन भएको दावी गरेका हुन् ।
‘एकै पटक दुई निर्वाचन संसारमा कतै भएका छैनन्, यस कारण यो निर्वाचन संसारकै नमूना हो’ यादवले भने ।

यादवले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, पत्रकार तथा पर्यवेक्षकहरुलाई धन्यवाद दिए ।

निर्वचनका दौरान देशका केही स्थानमा छिटपुट घटना भए पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन सकिएको यादवले बताए ।

निर्वाचित जनप्रतिनिधीहरुको अबका काम नागरिकको सुरक्षा र विकासको आशालाई अघि बढाउने जिम्मेवारी रहेको भन्दै जनताप्रति इमान्दार बन्न सुझाव पनि दिए ।

प्रमुख निर्वाचन आयुक्त यादव निर्वाचन सम्पन्न गराउने सबै पक्षलाई धन्यवाद दिन ओखलढुंगा आएका हुन् ।