खेलकुद

एभरेष्ट प्रिमिएर लिगः चितवनमाथि पोखराको सानदार जित

काठमाण्डौं । सर्वाधिक राशिको एभरेष्ट प्रिमिएर लिग(इपिएल)को दोस्रो खेलमा पोखरा राइनोजले चितवन टाइगर्समाथि सानदार जित हात पारेको छ ।

मंगलबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले बिना कुनै विकेट क्षति १७.४ ओभरमा पुरा गरेको छ ।

पोखराका लागि पाकिस्तानी खेलाडी इस्राउल्लाहले उत्कृष्ट प्रदर्शन गर्दै अर्धसतकीय पारी खेले । ५२ बल खेलेका उनले ६ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै ५४ बल खेलेका सुनिल धमलाले ४६ रन बनाए । उनले २ छक्का र तीन चौका प्रहार गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो ।

उसका लागि ओपनर अनिल मण्डलले ३२ र कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन् ।

सात रन हुँदा ओपनर दिलिप नाथलाई ब्यक्तिगत ६ रनमा गुमाएको चितवनले १० रन हुँदा दोस्रो विकेटको रूपमा साबाज खानलाई शून्यमा गुमायो ।

तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र अनिल मण्डलले ६७ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

तर ७७ रन हुँदा अनिल मण्डल ३२ रनमा आउट भएपछि चितवनले तेस्रो विकेट गुमायो । त्यसपछि ८८ रन हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ४२ रनमा आउट भए ।

चितवनको स्कोर १ सय रन हुँदा पाँचौ विकेटका रूपमा भिम सार्कीलाई गुमाएको उसका लागि योगेन्द्रसिंह कार्की ७ रनमै आउट भए ।

बलिङतर्फ पोखराका लागि इस्राउल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए । विक्रम सोब र तेज वालीले एक एक विकेट लिए ।