खेलकुद

इसरार उल्लाहको आक्रामक बलिङ, चितवन ११३ रनमा आउट

काठमाण्डौं । एभरेष्ट प्रिमियर लिग(इपिएल)को दोस्रो दिन मंगलबार जारी पहिलो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ११४ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर ११३ रन बनायो ।

अनिल मण्डल र दीपेन्द्रसिंह ऐरीबीच तेस्रो विकेटका लागि भएको ६७ रनको साझेदारीलाई पोखराका पाकिस्तानी खेलाडी इसरार उल्लाहले तोडेपछि चितवन सो स्कोरमा रोकिएको हो ।

चितवनले अनिल मण्डलसँग ओपनिङ आएका दीलिप नाथलाई पहिलो ओभरमै ६ रनमा गुमाएको थियो । लगत्तै विदेशी खेलाडी साबेज खानलाई पनि दोस्रो ओभरमा पोखराका अर्का पाकिस्तानी खेलाडी ताज अलिले शुन्य रनमा पवेलियन फर्काइदिए ।

१० रनको स्कोरमा दोस्रो विकेट गुमाएपछि टोलीका ओपनर अनिललाई साथ दिन कप्तान दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका थिए । अनिल र दीपेन्द्रको जोडीले झण्डै १० ओभर क्रिजमा बितायो ।

१३ औ ओभरको दोस्रो बलमा इसरार उल्लाहलाई चौका प्रहार गरेका अनिलले अर्को बलमा फेरी ठूलो सट प्रहार गर्ने चक्करमा बल माथि उठेपछि आउट हुनुपर्यो । जुन खेलको टर्निङ प्वाइन्ट रह्यो ।

त्यसबेला टोली १२.२ ओभरमा ७७ रन बनाउँदै राम्रो स्कोर तर्फ अघि बढिरहेको थियो ।

तर, ४४ बलको सामना गरेका अनिल ३ चौका र १ छक्का प्रहार गर्दै पवेलियन फर्किएपछि बाँकी खेलाडीले आशातित् प्रदर्शन गर्न सकेनन् ।

१५ औं ओभरको दोस्रो ओभरमा इसरार उल्लाहले नै दीपेन्द्रलाई पनि सुनिल धमलाको हातबाट क्याच गराएपछि चितवन दबावमा आएको थियो । दीपेन्द्रले ३२ बलमा ४२ रनको पारी खेले। त्यसक्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे ।

उनीहरु बाहेकका अन्य खेलाडीले भने दोहोरो अंक जोड्न नसकेपछि चितवन ११३ रनमा खुम्चिनु पर्यो । चितवनका भिम सार्की ८, योगेन्द्रसिंह कार्की र सुनाम गौतमले समान ७ रन जोडे ।

पोखराका इसरार उल्लाहले ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । त्यस्तै तेज वालीले ४ ओभरमा २१ रन खर्चिदै ३ विकेट लिए ।

पाकिस्तानी खेलाडी इसरार उल्लाहले प्रथम श्रेणीका ६८, लिस्ट एका ४८ तथा ४७ वटा टी–२० खेल खेलेका छन् ।