पु.समाचार

यीनै हुन् पोखरेलीको करोडौं ठग्नेहरु, प्रहरीले पक्राउ गर्दा उल्टै उपभोक्ताले छुटाए

पोखरा । आधा सस्तो मूल्यमा सामान पाउने लोभमा पोखराका बासिन्दा नराम्ररी ठगिएका छन् । बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा सामान उपलब्ध गराउने बताउँदै एक महिनादेखि व्यवसाय नै सञ्चालन गरेर करोडौं रुपैयाँ लिएर चार भारतीय नागरिक फरार भएका छन् ।

फरार हुनेमा भारत तामिलनाडु राज्यको त्रिचरापल्ली उरहीउरका ५३ वर्षीय मथुरमण के, ५७ वर्षीय राजेन्द्र थाङ्वेल, ३५ वर्षीय मुरुगानन्दम धावर र ४५ वर्षीय टी मथु रहेका छन् । उनीहरुले मंसिरको पहिलो हप्ता पोखराको सिर्जनाचोकमा सटर भाडामा लिई अक्सिजन ट्रेडर्स सञ्चालनमा ल्याएका थिए । बजार मूल्यभन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्रीमा थिए ।

ग्राहकले पुरै पैसा बुझाएर अग्रिम बुकिङ गरेको १५ दिनमा सामान पाउने बताइएको थियो । त्यति सस्तोमा सामान पाइने भएपछि पसलमा पैसा बुझाएर बुकिङ गर्नेको भीड लाग्ने गरेको थियो । ग्राहकले ५ सयदेखि झण्डै दुई लाख रुपैयाँसम्म पैसा बुझाएका थिए। ठगिनेमा चिकित्सक, कर्मचारी, सञ्चारकर्मीदेखि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसम्म छन् ।

करिब १ हजार जनाबाट १० करोड रुपैयाँ ठगेको हुनसक्ने विरौटाका लक्ष्मण बरालले बताए । सुरुसुरुमा सामान दिएजस्तो गरेका थिए,’ उनले भने, ‘सामान पाइदो रहेछ भनेर पैसा बुझाइयो, अहिले आएर फसियो ।’