अन्तर्राष्ट्रिय

सेल्फीका कारण देशै छोड्नुपर्‍यो

एजेन्सी । मिस इजरायलसँग सेल्फी लिनु मिस इराक सारा इदानका लागि महँगो सावित भएको छ । साराले मिस इजरायल अदार गेन्डल्समनसँग लिएको सेल्फी एकपछि अर्को हुँदै भाइरल भयो । सामाजिक सञ्जालमा जताततै छाएपछि सारा र उनको परिवारलाई ज्यान मार्ने धम्की आयो । त्यसपछि साराको परिवारले देश नै छाड्नुपर्‍यो ।

साराले १४ नोभेम्बरमा मिस इजरायल अदारसँग मिस युनिभर्स प्रतियोगितामा सेल्फी लिएकी थिइन् । फोटो सेयर गर्दै उनले लेखेकी थिइन्, ‘मिस इराक र मिस इजरायलको शान्ति र प्रेम ।’ यो तस्बिर अदारले पनि सेयर गरेकी थिइन् । तस्बिर पश्चिमी देशहरूमा सामाजिक सञ्जालमा निकै सेयर भए ।

मिस इराक सारा र उनको परिवार अहिले अमेरिकामा बस्दै आएको छ । तस्बिर हटाउन भनेको र नमाने ताज खोस्ने र ज्यान मार्नेसम्मको धम्की दिएको साराले बताइन् । मिस इजरायल अदारका अनुसार दुई देशका जनताका लागि सकारात्मक सन्देश दिन तस्बिर सेयर गरिएको थियो । किनभने इराक र इजरायलबीच तिक्ततापूर्ण सम्बन्ध छ । दुई देशबीच औपचारिक राजनीतिक सम्बन्ध पनि छैन । इराकले इजरायललाई देशको मान्यतासमेत दिन चाहँदैन ।