राजनीति

देउवाले राखेको प्रस्ताव प्रचण्डले बैठकमा सुनाएपछि सन्नाटा छायो, यस्तो थियो देउवाको प्रस्ताव !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको सोमबार आयोजित केन्द्रीय कार्यालयको बैठकमा एउटा महत्वपूर्ण विषयले प्रवेश पाएको छ । बैठकमा भर्खरै सम्पन्न निर्वाचनदेखि एमाले–माओवादीबीच हुने भनिएको पार्टी एकतासम्मको विषयमा छलफल त हुने नै भयो । किनभने यी विषय बैठकका पूर्ववत एजेण्डा नै थिए तर बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै एउटा नयाँ विषय प्रवेश गराए ।

यसरी अध्यक्ष दाहालले नै नयाँ विषय प्रवेश गराउलान भनेरचाहि कुनै केन्द्रीय सदस्यहरुले सोचेका थिएनन् । त्यो नयाँ विषय थियो, शनिबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ता र त्यहाँ प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व गर्न राखेको प्रस्ताव । बैठकमा अध्यक्ष दाहालले आफुसमक्ष प्रधानमन्त्री देउवाले पाँच वर्ष मुलुकको नेतृत्व लिन प्रस्तावको गरेको विषयलाई बैठकमा प्रस्तुत गरेका थिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री देउवाले राखेको सो प्रस्तावका बारेमा बैठकमा सुनाइरहँदा हल केहीबेर सुनसान समेत भएको थियो । एमाले–माओवादीबीच चुनावी तालमेल हुँदै पार्टी एकीकरण र संयुक्त सरकार बनाउने तयारी भैरहेको बेला प्रधानमन्त्री देउवाको यो प्रस्तावका बारेमा माओवादी हेर्डक्वार्टरमा भएको बैठकमा गम्भीर समीक्षा समेत भएको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री देउवाले राखेको यो प्रस्तावका बारेमा बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष दाहालले त्यसलाई आफुले भने नस्वीकारेको स्पष्ट पारेका थिए । दाहालले बैठकमा भनेका थिए, ‘प्रधानमन्त्री देउवाबाट अबको पाँच वर्ष मलाई प्रधानमन्त्री बन्नुस् भन्ने प्रस्ताव आएको थियो, तर मैले त्यसलाई अस्वीकार गरेँ ।

मैले उल्टै कांग्रेसलाई अबको पाँच वर्ष सम्मानजनक ढंगले प्रतिपक्षको भूमिकामा बस्न आग्रह गरे ।’ अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्री देउवाले कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलहरुको संयुक्त सरकार बनाउने र त्यसको नेतृत्व प्रचण्डलाई गर्न आग्रह गरेका थिए । तर उनले भने त्यसलाई स्वीकार नगरेको बताएका छन् । यसरी माओवादी केन्द्रकै बैठकमा कांग्रेसले पाँच वर्षका लागि प्रधानमन्त्री बन्न गरेको प्रस्तावले प्रवेश पाएपछि अबको राजनीतिक परिदृष्य कसरी अघि बढ्छ, त्यो भने हेर्न बाँकीनै छ ।

प्रचण्डले जतिबेला पनि निर्णय गर्न सक्छन् !
जानकारहरुका अनुसार कांग्रेसको यो प्रस्तावले माओवादीलाई एमालेसँगको समीकरणमा खेल्ने आधार भने तयार भएको छ । यदि पार्टी एकताका क्रममा एमाले नेतृत्वले जथाभावी निर्णय गरेमा माओवादी नेतृत्वले समीकरण तोड्छु भन्ने सम्मको आधार तय भएको र त्यही अनुसार पेरिसडाँडाले तयारी गरेको श्रोतले बताएको छ ।

पछिल्ला दिन एमाले नेतृत्व तहबाटै पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पनि एउटै व्यक्ति हुने अभिव्यक्तिहरु आउन थालेपछि माओवादी नेतृत्वले शंका गरिरहेको छ । त्यसकारण पनि कांग्रेस सभापति देउवाले राखेको यो प्रस्तावलाई प्रचण्डले बैठकमा प्रवेश गराएका हुनसक्ने आँकलन गरिदैछ ।

यदि एमाले नेतृत्वले आफ्नो दम्भ छाडेन भने अध्यक्ष दाहाल र सभापति देउवाबीच भएको यो छलफल र प्रस्ताव कार्यान्वयनकै चरणमा अघि नबढ्ला भन्न सकिन्न, त्यसबेला नेपाली कांग्रेस होइन, नेकपा एमालेचाहि पाँच वर्षका लागि प्रतिपक्षमा बस्न सक्ने अवस्था समेत आउन सक्ने एमाले, माओवादी र कांग्रेसलाई नजिकबाट बुझ्ने जानकारहरु बताउन थालेका छन् ।