पु.समाचार

माओवादी केन्द्रीय कार्यालय बैठकमा एमालेको आलोचना !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा भर्खरै सम्पन्न निर्वाचन र वाम एकताको विषयमा गम्भीर छलफल भएको छ । बैठकमा एमाले र माओवादीबीच हुने भनिएको एकताका बारेमा नेताहरुले आशंका समेत व्यक्त गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित सो बैठकमा पछिल्लो समयमा एमाले महासचिव ईश्वर पोख्रेलले दिएको अभिव्यक्तिमाथि अधिकांश नेताहरुले आशंका व्यक्त गरेको श्रोतले बताएको छ ।

उनीहरुले प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष कुनै पनि हालतमा एउटै नेता हुननसक्ने भन्दै महासचिव पोख्रेलले दिएको अभिव्यक्तिविरुद्ध टिप्पणी गरेका हुन् ।

महासचिव पोख्रेलले केही दिनअघि एक सञ्चारमाध्याममा पार्टी अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्ने कुराको खुलासा गरेका थिए । उनको यो अभिव्यक्तिले ती दुई पार्टीबीच हुने भनिएको पार्टी एकताप्रतिनै संसय पैदा गराईदिएको छ ।