आर्थिक

अबको लक्ष्य आर्थिक समृद्धिकोः अध्यक्ष राणा

दाङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको लक्ष्य आर्थिक समृद्धिको हुनुपर्ने बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघको २४औँ साधारणसभा तथा रजत जयन्ती कार्यक्रममा उनले भने, “देशमा राजनीतिक उपलब्धि पूरा भइसकेको र स्थानीय तथा केन्द्रीय सरकार गठनसँगै मुलुक अब आर्थिक समृद्धितर्फ जान्छ ।”

अध्यक्ष राणाले “अबको पाँच वर्ष स्थिर सरकार बन्नेछ, त्यो हाम्रा लागि खुशीको कुरा हो, त्यससँगै अब उद्योग–कलकारखाना स्थापना र व्यवसायीले ढुक्क सँग व्यापार–व्यवसायी गर्नु हुनेछ,” भने ।

पटक पटक सरकार परिवर्तनले पनि देशमा विकास हुन नसकेको उल्लेख गर्दै उनले अब देशमा लगानी मैत्री वातावरण निर्माण गरी देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष राणाले निजी क्षेत्रले स्थानीय सरकारसँग मिलेर मुलुकको समृद्धिका लागि काम गर्ने बताउँदै मुलुकको समृद्धिका लागि अपार सम्भावना बोकेका पर्यटन, कृषि, जलविद्युत्जस्ता क्षेत्रमा निजी क्षेत्रले सहकार्य गर्ने धारणा व्यक्त गरे ।