आर्थिक

कर संकलनमा खटिए कर्मचारी

ताप्लेजुङ । चार पटकसम्म ठेक्का आह्वान गर्दा पनि ठेक्का नलागेपछि ताप्लेजुङमा जिल्ला समन्वय समितिका कर्मचारी आफै कर संकलनमा जुटेका छन् ।

ढुंगा, गिट्टी र बालुवा निकासी कर संकलनका लागि ठेक्का आह्वान भए पनि ठेक्का नलागेपछि कर्मचारी आफैँले सदरमुकाम नजिकैबाट निकासी कर संकलन गर्न थालेका हुन् ।

सदरमुकाम फुङ्लिङस्थित मेची राजमार्गमा पर्ने सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको चेकपोष्ट नजिकै बसेर संकलन गर्न थालिएको स्थानीय विकास अधिकारी नरहरि भण्डारीले जानकारी दिए । साउन, भदौ र असोज महिनाबाहेक अन्य नौ महिना कर उठाउने गरिन्छ । साउन, भदौ र असोजमा ढुंगा, गिट्टी र बालुवा संकलन गर्न रोक लगाउने गरिन्छ ।

ढुंगा, गिट्टी र बालुवाबाट प्रतिट्र्याक्टर रु २५० संकलन गर्ने गरिएको छ । हाल काबेली र तमोर नदीबाट दैनिक १५ ट्र्याक्टरभन्दा बढी बालुवा सदरमुकाम भित्रने गरेकाले विशेष ध्यान दिएको भण्डारीले बताए । सुकेटार, थेचम्बुलगायत क्षेत्रका अन्य बाटो भएरसमेत भित्रने गरेकाले ती क्षेत्रमा पनि कर संकलन गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

यता विगतका वर्षमा कर संकलनका लागि ठेक्का आह्वान गर्नासाथ ठेकेदारको भीड लाग्ने गथ्र्यो । स्थानीय ठेकेदारले ठेक्का लिएर दोखुको बहानन्दे, हेलिप्याडबाट कर संकलन गर्दै आएका थिए । तर अहिले ढुंगा, गिट्टी र बालुवाको कर संकलनमा भन्दा पनि ठूलाठूला कामको ठेक्कामा ठेकेदारको ध्यान जान थालेकाले ठेक्का नलागेको बताइएको छ ।