राजनीति

बधाई दिन बालकोट पुगेको हानको टोलिलाई ओलीले यसो भनेर फर्काए

भक्तपुर । होटल एशोसिएसन अफ नेपाल (हान) ले मुलुकमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत राजनीतिक स्थायित्व दिन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएको छ ।

हानका अध्यक्ष अमरमान शाक्यको नेतृत्वमा गएको होटल व्यवसायीको प्रतिनिधिमण्डलले आज भक्तपुर बालकोटस्थित ओली निवास पुगी उनलाई बधाई ज्ञापन गरेको हो ।

उक्त अवसरमा हानका अध्यक्ष शाक्यले एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालमा दिगो राजनीतिक स्थायित्व र आर्थिक तथा सामाजिक विकासले मूर्तरुप लिने अपेक्षा गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ ।

हानका पूर्व अध्यक्ष योगेन्द्र शाक्यले होटल व्यवसायलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सकेमा पर्यटनमार्फत नेपालमा आर्थिक परिवर्तन सम्भव भएकाले नेपालमा व्यावसायिक वातावरण निर्माण गरी सबै प्रदेशमा लगानी र पर्यटकीय गतिविधि बढाउने वातावरण निर्माणका लागि अध्यक्ष ओलीसमक्ष आग्रह गरेका थिए ।

हानका उपाध्यक्ष सिर्जना राणाले होटल व्यवसायमा ठूलो लगानी आवश्यक हुने भएकाले लगानीकर्ता व्यवसायी र कर्मचारी सबैलाई हित हुने गरी आगामी सरकारले कार्य गर्न सकेमा मात्र नेपालले विकासको फड्को मार्नसक्ने बताए ।

भेटका अवसरमा पूर्व प्रधानमन्त्री ओलीले प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै अहिले पर्यटन क्षेत्र त्यसमा पनि खर्बौं लगानी रहेको होटल उद्योग पर्यटनको प्रमुख आधारस्तम्भ रहनुका साथै देशकै आर्थिक मरुदण्डको रुपमा रहेको र नयाँ प्रादेशिक संरचनामा हरेक प्रदेशलाई पर्यटनमैत्री बनाई अगाडि बढाउने आश्वासन दिएको हानले जनाएको छ ।