समाचार

सरकारबाट बाहिरिने विषयमा कांग्रेस नेताले गरे यस्तो खुलासा

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन् । राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पौडेलको तर्क छ ।

राजनीतिक जीवनमा पहिलो पटक संसदीय चुनावमा पराजय व्यहोरेका पौडेलले मतदातालाई धन्यावद दिनेक्रममा आइतवार आयोजित कार्यक्रममा भने, ‘नेपाली कांग्रेसले हरेक संक्रमणकाललाई व्यवस्थीत गरेको छ । संविधानकानुन र प्रक्रिया बेगर जथाभाबी कांग्रेस जस्तो जिम्मेवार पार्टी मुलुकलाई अलपत्र छोडेर हिड्दैन ।’

उनले संसदले पूर्णता नपाएसम्म सरकार नछाड्ने दोहोर्‍याए । सांसदको चुनाव हारेका पौडेलले आफू स्थानीय तहका जनप्रतिनिधिसँग मिलेर तनहुँको विकासको काम गर्नका लागि सधै तयार रहेको बताए ।

उनले कांग्रेसलाई आफू सच्चिएर अघि बढ्ने अवसर प्राप्त भएको बताए । अब कांग्रेसमा दुःख पाएकाले न्याय पाउने र क्षमता भएकाले अवसर पाउने सन्देश दिन जरुरी रहेको पौडेलले बताए ।

तनहुका विभिन्न गाउँमा धन्यवाद दिने क्रममा पौडेलसँगै प्रदेशसभाका उम्मेदवार कांग्रेस नेता गोविन्द भट्टराई, समानुपातिक उम्मेदवार पूर्णवहादुर गुरुङ, सरिता गुरुङ लगायत सहभागी थिए ।