तनहुँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पराजय भोगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मतदाता भेटघाट अभियानमा छन् ।
मतदातालाई भन्यवाद दिन व्यास नगरपालिका १० खहरे पुगेका पौडेल स्थानीयसँग भावुक बने । उनलाई भेट्न आएका स्थानीय तथा कार्यकर्ताको अनुहार पनि मलिन देखिन्थ्यो । धन्यवाद दिन कुर्सीबाट उठेका पौडेल एकछिन बोल्नै सकेनन् ।
भेटघाट सभा शोकसभाजस्तो लाग्दै थियो । नेता पौडेलले आफूलाई सम्हाल्दै स्थानीय मतदाता तथा कार्यकर्तालाई धन्यवाद दिए । ‘हारजित यस्तै हो, हजुरहरुको सेवामै मेरो जीवन अर्पण गर्दछु ।’ उनले भने ।
उनले मुलुक विकासको लागि पार्टीलाई सुधार गर्दै अगाडि बढ्ने बताए । पार्टीलाई सही ट्रयाकमा ल्याएर युवालाई सक्रिय बनाउने योजना रहेको बताए । नेता पौडेलले सोमबार व्यास १० को बैरेनी, खहरे, व्यास ७ को कलेस्ती, पाथ्रालगायतको ठाउँहरुमा पुगेर मतदातालाई धन्यवाद दिए ।