समाचार

निर्वाचन आयुक्त भन्छन्ः बदर मतको जिम्मा दलहरुले पनि लिनुपर्छ

खोटाङ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ऐतिहासिक निर्वाचन सकिएसँगै लोकतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्नमा लाग्नुपर्ने बताएका छन् ।

निर्वाचन गतिविधि र निर्वाचनपछिको अवस्थाका विषयमा जानकारी लिन सोमबार खोटाङ आइपुगेका प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनपछि लोकतन्त्र, संघीयता र गणतन्त्रलाई संस्थागत र स्थापित गर्ने कार्यभार नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएको बताएका हुन् ।

‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने ऐतिहासिक दायित्व पूरा गरेका छौँ,’ जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलीय भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘आगामी कार्यभार भनेको डेमेक्रेटिक इलेक्सनलाई स्टाब्लिस गर्नु हो । जनताको बीचमा लोकतन्त्र, संघीयता, गणतन्त्रलाई स्थापित गर्नु अबको प्रमुख कार्यभार हो । सबैलाई त्यसतर्फ लाग्न आग्रह छ ।’

प्रमुख निर्वाचन आयुक्त यादवले विभिन्न जटिलताका वावजुद पनि प्रदेश र प्रतिनिधिसभाको दुई वटा निर्वाचन एकै पटक सम्पन्न भएकामा मतदातालाई बधाई एबं धन्यबाद ज्ञापन गरे। ‘कानून छैन । मिति घोषणा भयो । निर्वाचन क्षेत्र छैन । यी विविध चुनौतीकाबीचमा पनि निर्वाचन गर्‍यौँ । स्टाव्लिस्ड डेमोक्रेटिक कन्ट्रीले समेत दुई वटा निर्वाचन एकैपटक गर्न नसकेको अवस्थामा हामीले गरेर देखायौँ,’ यादवले भने, ‘चुनौतीका बावजुद पनि नेपाली जनताले अदम्य साहस देखाउनु भो । निर्भिकताका साथ मतदात गर्न मतदान केन्द्र जानु भयो । त्यसका लागि नेपाली जनताप्रति आभार व्यक्त गर्छु ।’

यादवले नमूना मतपत्रमा दलको वास्तबिक चुनाव चिह्न उल्लेख नहुँदा मतदाता झुक्किएर बढि मत बदर भएको स्वीकार गरे । मत बदरको नैतिक जिम्मेवारी राजनैतिक दलले समेत लिनु पर्ने यादवको भनाई थियो । आगामी दिनमा निर्वाचनलाई प्रविधिमैत्री बनाउदै लैजाने प्रमुख निर्वाचन आयुक्त यादवले बताए ।