राजनीति

नेपालको प्रशंसा गर्दै पूर्व भारतीय राजदूत रायले दिए यस्तो चेतावनी

काठमाण्डौं । नेपालका लागि पूर्व भारतीय राजदूत रणजीत रायले प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली भारतकको असल मित्र रहेको बताएका छन् ।

भारतीय डिजिटल मिडिया ‘द वायर’लाई अन्तर्वार्ता दिँदै उनले ओली एक दृढ र कुशल प्रशासक समेत रहेको उल्लेख गरेका छन् । ओली भारतविरोधी रहेको भन्ने चर्चा चलिरहेका बेला रायको यस्तो धारणा आएको हो ।

‘जब भारतसँग ठूला जलविद्युत् आयोजना सम्बन्धी सम्झौता हुँदै थियो, त्यतिबेला उनी प्रधानमन्त्री थिएनन्। उनले त्यसलाई मूर्तरुप दिन, पार्टीबाट सहमति जुटाउन मुख्य भूमिका निर्वाह गरेका थिए’, ओलीको प्रशंसा गर्दै पूर्वराजदूत रायले भनेका छन् ।

उनले केही विषयमा ओलीसँग असमझदारी देखिए पनि उनी भारतका राम्रा मित्र भएको उल्लेख गरेका हुन्। ‘केही विषयमा हाम्रा असमझदारी देखिए पनि ओली हाम्रा असल मित्र हुन्’, उनले भने ।

अन्तर्वार्तामा पूर्व भारतीय राजदूतले नेपालको स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर प्रश्न उठ्ने गरी नेपाललाई छुट्टै देशको रुपमा स्वीकार्नसमेत अस्वीकार गरेका छन् । उनले राष्ट्रको रुपमा नेपालको स्वतन्त्र हैसियत नभएको झूठो दाबी गरेका छन् ।

‘नेपालको राष्ट्रिय पहिचान भन्नु नै के हो र ?’, उनले आपत्तिजनक प्रश्न गर्दै भनेका छन्, ‘नेपालको भाषा, धर्म, संस्कृति, सभ्यता सबै भारतसँग उस्तै छ भने राज्यको रुपमा नेपालको मौलिक पहिचान के छ र ?’

संविधानको विषयमा फेरि तनाब बढ्न सक्छ

पूर्व राजदूत रायले संविधानको विषयमा फेरि पनि नेपालमा तनाब बढ्नसक्ने चेतावनी दिएका छन् । ‘भारतले नेपालका सबै समूहको आवाज संविधानमा समेट्न आग्रह गरेको थियो । उनीहरुका स्वार्थ पूरा नगर्दा नेपाली समाज अझै पनि आन्दोलित हुन सक्छ’, उनले भनेका छन् ।

संविधान निर्माणको अन्तिम चरणमा भारतले आफ्ना ७ बुँदा नेपालको संविधानमा उल्लेख गर्न दवाब बढाएको थियो ।

भारतले आत्मियता देखाउँदा देखाउँदै पनि कहिले कहीँ नेपालीले एकलकाँटे हुँदै ठूलो राजनीतिक स्पेस खोज्दा समस्या देखिने गरेको उनले उल्लेख गरेका छन् । ‘अहिले नेपालले भारतको भूमिका रियलाइज गरिसकेको छ, हामीले पनि नेपाल कति महत्वपूर्ण छ भनेर रियलाइज गरिसकेका छौं’, अन्तर्वार्तामा उनले भने ।

संविधान संशोधनविरुद्ध आवाज उठाउने एमालेलाई जनताले सबैभन्दा ठूलो दल र उसैसँगको वाम गठबन्धनलाई दुई तिहाई बहुमत दिएको सन्दर्भमा पूर्वराजदूतको यस्तो भनाइ सार्वजनिक भएको हो । पूर्वराजदूत रायले एमालेका केही नेताले भारतको आत्मियतालाई साम्राज्यवादी एवं बिग ब्रदरको रुपमा स्थापित गराएको आरोप लगाए ।

नेपालमा चिनियाँ प्रभाव १० मा २ प्रतिशत मात्रै भारतसँग सम्बन्ध बिग्रिएको बेला चीनसँग पुग्ने प्रवृत्ति नेपालमा पुरानै रहेको उल्लेख गर्दै उनले नेपालमा चिनियाँ प्रभाव बढेको दाबी गरेका छन् ।

नेपालमा चीन र भारतको प्रभावलाई कूल १० मान्ने हो भने त्यसमा भारतीय प्रभाव ८ रहेको उनले दाबी गरेका छन् । ‘नेपालमा भारतको प्रभाव १० मा ८ रहेको छ भने चीन २ मात्र छ’, उनले भनेका छन् ।

२०७२ असोजमा नेपालको जनप्रतिधिमूलक संस्था संविधान सभाबाट संविधान जारी भएकोमा आक्रोशित हुँदै अमानवीय नाकाबन्दी लादेको थियो । राणजीत राय त्यतिबेला भारतका लागि नेपालका राजदूत थिए । औषधि, पेट्रोलियम पदार्थ, ग्यास एवं दैनिक उपभोग्य सामान ढुवानी ठप्प पारी भारतले भूपरिवेष्टित राष्ट्रको अन्तर्राष्ट्रिय अधिकार धज्जी उडाएको थियो ।

तत्कालीन भारतीय राजदूत रायसँग नेपाल सरकारले त्यतिबेला नाकाबन्दीबारे प्रस्टिकरण लिएको थियो । त्यतिबेला राजदूत रायले नाकाबन्दी ‘राजनीतिक’ विषय भएको नेपाललाई जवाफ दिएका थिए ।