अन्तर्राष्ट्रिय

बेलायती राजकुमार ह्यारीले लिए बाराक ओबामाको अन्तरवार्ता

एजेन्सी । बेलायतका राजकुमार ह्यारीले अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको अन्तरवार्ता लिएका छन् । उनले गत सेप्टेम्बरमा टोरन्टोमा लिएको सो अन्तरवार्ता बीबीसी रेडियोबाट डिसेम्बर २७ मा प्रशारण हुनेछ ।

आइतबार उक्त अन्तरवार्ताको टिजर रिलिज गरिएको छ, जसमा यी दुईको लामो समयदेखिको मित्रता खुलेर प्रकट भएको छ । उनीहरुले ख्यालठट्टा गरिरहेको तथा ह्यारीले सम्पादकीय प्रक्रियाबारे बुझाइरहेको टिजरमा देखिन्छ । ह्यारीले गेस्ट एडिटरको हैसियतमा अन्तरवार्ता लिएका हुन् ।

‘के मैले ब्रिटिस उच्चारण गर्नुपर्छ ?’ ओबामाले मुस्काउँदै ह्यारीलाई सोध्छन् । ‘पर्दैन, पर्दैन,’ ह्यारीले तत्कालै भन्छन् । तर, उनले जवाफ दिँदा बीचमा लामो ग्याप नराख्न ओबामालाई सचेत गराउँछन् ।

केन्सिङ्टोन प्यालेसले भनेको छ कि यो वार्ता ओबामा र ह्यारीको युवा नेताहरुको अर्को पुस्ताका लागि प्लेटफर्म निर्माण गर्ने साझा अभिरुचीमा केन्द्रित छ ।

ओबामाले आफूले राष्ट्रपति कार्यालय छोड्दाको घटना स्मरण गरेका छन् र त्यसपछिको ओबामा फाउन्डेसनमार्फत गरिरहेको कामबारे ब्याख्या गरेका छन् ।

ह्यारी र ओबामा धेरै वर्षदेखिका साथी हुन् । ओभल अफिस छाडेयता ओबामाले ह्यारीलाई पटक–पटक भेटिसकेका छन् । गत मेमा यूरोप भ्रमणमा जाने क्रममा उनी केन्सिङ्टोन प्यालेसमा एक रात बिताएका थिए ।

२७ डिसेम्बरको प्रशारणका अतिरिक्त यो अन्तरवार्ता पोडकास्टका रुपमा पनि रिलिज गरिने केन्सिङ्टोन प्यालेसले जनाएको छ ।