समाचार

हेलो सरकारबाट कल सेन्टर शुरु

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए ।

हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पु¥याई सम्बोधन गर्नका लागि कल सेन्टर शुरु गरिएको उनले बताए ।

सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो राख्ने छन् । यसरी राखिएका गुनासोलाई तुरुन्तै त्यहाँका कर्मचारीले कम्प्युटरमा टाइप गरी सम्बन्धित निकायमा गुनासो पु¥याउने छन् ।

कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था रहेको छ । कल सेन्टर शुरु भएपछि जो कोहीले पनि जिस्किएर हेलो सरकारको ११११ नम्बरमा फोन नगर्ने कर्मचारी रुपक अर्यालले बताए ।

‘पहिले जसले पनि ११११ मा फोन गरेर जिस्काउने गरेका थिए’, उनले भने, ‘तर अहिले उक्त नम्बरमा फोन गरेपछि नेपाली र अंग्रेजी भाषा छनोट गर्ने भनेपछि धेरैले फोन नगर्ने गरेका पाइएको छ ।’

अहिले तीनवटा ठाउँबाट कल सेन्टर शुरु गरिएको छ । बिहान ७ देखि साँझ ९ बजेसम्म प्रत्येक दिन कल सेन्टरबाट कर्मचारीले गुनासो लिने गरेका छन् ।

विसं २०६८ कात्तिक १७ गतेबाट शुरु गरिएको हेलो सरकारमा अहिले इमेल, फेसबुक र ट्वीटरबाट पनि गुनासो लिने गरिएको छ । शाखा अधिकृत कोइरालाका अनुसार अहिले दैनिक १५ वटासम्म कल सेन्टरमा गुनासो आउने गरेको जानकारी दिए । रासस