उर्जा

बूढीगण्डकी निर्माणको लागि स्वदेशी लगानी नै पर्याप्तः प्रतिवेदन

काठमाण्डौं । सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तीय स्रोत पनि जुटाएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाका र तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको हो । स्वदेशी लगानीमै सम्पन्न गर्न पर्याप्त हुने गरी वित्तीय स्रोतको खाका तयार पारिएको समितिका संयोजक एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिए ।

प्रतिवेदनमा यो आयोजना निर्माणका लागि एक वर्षभित्रै करीब २ सय ७० देखि ३ सय ६७ अर्ब लगानी गर्न सक्ने क्षेत्रहरूको पहिचान गरिएको छ । समितिका संयोजक वाग्लेले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि स्वदेशी लगानी जुटाउने पर्याप्त आधार रहेको पनि स्पष्ट पारे ।

समितिले यो आयोजना निर्माणका लागि लगानी गर्न कार्वन ट्याक्सलाई मुख्य स्रोतको रूपमा लिएको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान तथा अन्य बीमा कम्पनीहरू, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषसमेत यो आयोजना निर्माणका लागि लगानी गर्न सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन कठिनाई नरहेको पनि स्पष्ट पारेको छ । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री कमल थापाले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण स्वदेशी लगानीमा सम्पन्न हुने सुनिश्चित भएको स्पष्ट पारे ।

उनले यो आयोजनालाई सफल बनाउन स्वदेशी पूँजी र प्रविधिमै निर्माण गर्ने निर्णय लिइएको स्पष्ट पारे ।

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने पुष्पकमल दाहाल नेतृत्वको सरकारको निर्णय खारेज गरेपछि सरकारले स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको थियो ।