पु.समाचार

वाइसीएलका नेतासँग केपी ओलीले यसरी माफी मागे

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धबारे विगतका आफ्ना भनाईहरुलाई मुर्ख टिप्पणी भनेका छन् । माओवादी केन्द्र सम्बद्ध योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेताहरुसँगको भेटमा ओलीले जनयुद्धबारेका आफ्ना पूर्व अभिव्यक्तिलाई मुर्ख टिप्पणी करार गरेका हुन् ।

‘राष्ट्र र मुलुकलाई घाटा नलाग्ने गरी म कहिलेकाहीं मुर्ख पनि बन्ने गरेको छु, जनयुद्धबारेका मेरा पूर्व टिप्पणीहरु त्यस्तै हुन्’ अध्यक्ष रामप्रसाद सापकोटा(दीपशिखा) को नेतृत्वमा बधाई दिन बालकोट पुगेको वाइसीएल टोलीसँग सोमबार विहान ओलीले भने, ‘विगतमा जनयुद्धबारे मैले कडा टिप्पणी गरें, त्यसलाई त्यही रुपमा नबुझिदिनु होला ।’

ओलीले थपे, ‘जनयुद्धबारे मैले कठोर टिप्पणी पनि गरेको छु, तर सँगसँगै त्यसको सकरात्मक पक्षको प्रसंशा र प्रोत्साहन पनि गरेकै छु’, ओलीले भने, ‘विगतका मेरा कडा टिप्पणीलाई अन्यथा नलिनु होला । ती समाज र मुलुकलाई घाटा नलाग्ने गरी आएका मुर्ख टिप्पणी हुन् ।’

‘हल्लाखल्ला गरेर पार्टी एकताको थालनी गरिएको भए एमाले–माओवादी केन्द्रबीच एकताको वातावरण नै बन्न सक्दैनथ्यो’ भन्दै ओलीले फेरि दुई पार्टीबीचको एकता भाँड्न प्रपञ्च सुरु भएको दावी गरे। तर, जति नै प्रयास भएपनि एकता नभाँडिने उनले बताए ।

‘एकताप्रति प्रचण्डजी पनि इमान्दार भएर लाग्नु भएको छ हामीपनि लागेका छौं ओलीले भने, ‘एकताप्रति आशंका गर्नुपर्ने अवस्था छैन ।’