अन्तर्राष्ट्रिय

आतंककारी हमला जोगाएका ट्रम्पलाई रुसी राष्ट्रपतिले यसो भने

एजेन्सी । अमेरिकाले रुसी सरह सेन्ट पिटर्सवर्गमा सम्भावित आतंककारी हमला हुन लागेको सूचना दिएर त्यसलाई विफल बनाउन सहयोग गरेपछि रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले टेलिफोनमार्फत् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।

यद्यपि सो आक्रमण कसले गराउन लागेको थियो भन्ने विषयमा रुस तथा अमेरिका दुवैले कुनै पनि जानकारी दिएका छैनन् । ह्वाइट हाउस र क्रेमलिन दुवैले आक्रमणअघि नै अमेरिकाले रुसलाई सूचना दिएकोले सम्भावित आक्रमणकारी गिरफ्तार भएको बताएका छन् । रुसी मिडियाले सो षड्यन्त्रमा इस्लामिक स्टेटसम्बद्ध व्यक्तिहरुलाई पक्राउ गरिएको जनाएका छन् ।

दुई शक्तिराष्ट्र बीच तिक्ततापूर्ण सम्बन्धका बीच भएको यो सहकार्यलाई दुर्लभ घटनाका रुपमा विश्लेषण गरिएको छ ।

सो आक्रमण सेन्ट पिटर्सवर्गको काजान्स्की क्याथेड्रलमा हुन लागेको बताइएको छ । यसअघि गत बिहीबार पुटिन र ट्रम्पले उत्तर कोरियाबारे टेलिफोन वार्ता गरेका थिए ।