खेलकुद

काठमाण्डौंले दियो ललितपुर प्याट्रियोट्सलाई ९० रनको लक्ष्य

काठमाण्डौं । एभरेष्ट प्रिमियर लिग (इपिएल)को उद्घाटन खेलमा काठमाण्डौं किंग्स एलेवेनले ललितपुर प्याट्रियोट्सलाई ९० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रेको काठमाण्डौंले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा अलआउट भयो ।

काठमाण्डौंका अमित श्रेष्ठले सर्बाधिक २७ रन बनाए । उनीसँगै श्रीलंकन खेलाडी अक्क्षु फर्नान्डोले १५, सोमपाल कामीले १४, कप्तान फरवेज महारुफ र सागरकुमारले समान ७ रन जोडे ।

ओपनर सागर पुन(४) दोस्रो ओभरमा ललितपुरका भारतीय खेलाडी सुबोधकुमार भाटीको बलमा अर्का भारतीय विकेटकिपर जयकिसन कोल्सवालाको हातबाट क्याच भए ।

लगत्तै क्रिजमा आएका नरेश बुढाऐरलाई मेहबुब आलमले विकेटकिपर कोल्सवालाकै हातबाट शुन्य रनमा पवेलियन फर्काए ।

तेस्रो विकेटका लागि क्रिजमा आएका काठमाण्डौंका कप्तान तथा श्रीलंकाली खेलाडी फरवेज महारुफले ३.५ ओभरमा सुबोधको बलमा सिधा छक्का प्रहार गर्दै टोलीलाई आशा जगाए तर अर्को ओभरमा मेहबुब आलमले पवन सरार्फतको हातबाट क्याच गराउँदै ७ रनमा महारुफलाई पवेलियन फर्काए ।

राजु रिजाललाई शुन्य, सागर कुमारलाई ७ रनमा गुमाउँदा काठमाण्डौंको स्कोर १० औं ओभरमा ३६ बनाई ५ विकेट गुमाएको स्थितिमा पुगेको थियो ।

सर्बाधिक २७ रन जोडेका ओपनर अमित श्रेष्ठलाई राजबंशले कट एण्ड बोल्ड गरेपछि सोमपाल कामी र अक्क्षु फर्नान्डोले साझेदारी गर्दै टोलीलाई अगाडी बढाए ।

अक्क्षुलाई भाटीले १५ रनको स्कोरमा हुँदा कोल्सवालाको हातबाट क्याच गराउनु अघि उनले सोमपालसँग ३० रनको साझेदारी गरेका थिए ।

लगत्तै क्रिजमा आएका सिद्धान्त लोहनी दोस्रो बलमा चौका र तेस्रो बलमा रिभर स्वीप हान्नेक्रममा थर्डम्यानमा रहेका सोनु तामांङको हातबाट क्याच भए ।

लगत्तै अर्को १९ औं ओभरको पहिलो बलमा सोमपालाई भाटीले १४ रनमा आउट गराएपछि काठमाण्डौंले थप स्कोर अगाडी बढाउन सकेन् ।

ललितपुर प्याट्रियोट्सका सुबोधकुमार भाटीले ४ तथा ललित राजबंशीले ३ विकेट लिए । यस्तै, मेहबुब आलमले २ हात पारे ।

केहीबेरमा काठमाण्डौंले ब्याटिङ गर्दैछ ।