समाचार

बेत्रावतीमा श्राद्ध गर्नेको घुइँचो

रसुवा । रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगयाधाममा सोमबार बिहानैदेखि श्राद्ध गर्नेको घुइँचो लागेको छ । हरेक वर्ष पुषे औँशीमा दिवंगत व्यक्तिको नाममा बेत्रावतीमा पितृ तर्पण गर्ने गरिन्छ ।

उत्तरगया क्षेत्र विकास समितिले दिएको जानकारी अनुसार यो वर्ष झण्डै १० हजारजनाले श्राद्ध गर्ने अनुमान गरिएको छ ।

गएको वर्ष पुषे औँशीमा २० हजारले श्राद्ध गरेका थिए । त्रिशूली, सलाखु र फलाखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा जौको पिण्ड दिएर बिहानैदेखि श्राद्ध गर्न जाने र फर्कने कार्य भैरहेको स्थानीय बासिन्दा गणेश श्रेष्ठले बताए ।

यो औँशीमा हिन्दु र बौद्ध धर्मालम्बीले उत्तरगयाधाम बेत्रावतीमा पुगेर श्राद्ध गर्ने गर्दछन् । औँशीमा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको छ ।