खेलकुद

सर्वाधिक राशिको ईपीएल क्रिकेट आजबाट सुरु, यी टिमबीच हुँदैछ रोचक प्रतिष्पर्धा

काठमाण्डौं । नेपालमा सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजबाट कीर्तिपुरमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिम सहभागी छन् ।

उद्घाटन खेलमा काठमाण्डौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिष्पर्धा हुँदैछ । किङ्स इलाभेनको नेतृत्व सोमपाल कामी र पेट्रियट्सको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन् ।

यीसँगै पारस खड्काको कप्तानीमा विराटनगर वारियर्स, शक्ती गौचनको कप्तानीमा पोखरा राइनोज, शरद भेषावकरको कप्तानीमा भैरहवा ग्लाडियटर्स र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चितवन टाइगरले पनि प्रतियोगितामा भाग लिएका छन् ।

लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन् । लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ । जित हात पार्ने टिम फाइनलमा पुग्नेछ । हार्ने टिमले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद पुरस्कार पाउने छ । टिममा १५ जना खेलाडी हुने र सबै टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था मिलाइएको छ । जसमध्ये नेपालका १० जना खेलाडीको अक्सन (खेलाडी किनबेच) मार्फत छानिएको थियो । विनोद भण्डारी, आरिफ शेख, सन्दिप लामिछाने र करण केसी सर्वाधिक रकममा बिकेका थिए ।

खेल हेर्नका लागि साधारण दर्शकलाई टिकट शुल्क १०० रुपैयाँ राखिएको छ । विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन् ।

प्रतियोगितामा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने छ । थर्ड अम्पाएर, चियर्स लिडर र उत्कृष्ट साउन्ड सिस्टमको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।