राजनीति

भारतसँग मिल्न ओली तयार, खुलेरै गरे भारतको प्रसंशा

काठमाण्डौं । छिमेकी मित्रराष्ट्र भारतको खैरो खन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि भने भारतीय भूमिकाको प्रसंशा गर्न थालेका छन् । चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको भन्ने भारतीय विदेश मन्त्रालयको भनाईको ओलीले प्रसंशा गरेका हुन् ।

वामगठबन्धनले आइतबार राजधानीमा गरेको संयुक्त पत्रकार सम्मेलनमा ओलीलाई भारतसँगको सम्बन्धबारे पत्रकारहरुले प्रश्न गरेका थिए । ओलीले नयाँ सरकारले पनि भारतसँग मिलेर काम गर्ने बताए । उनले भने, ‘हामीपनि भारतसँग मिलेर काम गर्न चाहन्छौं ।’

ओलीको भारतसँगको तिक्ततापूर्ण सम्बन्धका कारण ओलीको कार्यकालमा दुई देशका सरकारबीच सुमधुर सम्बन्ध हुने कुरामा पनि पत्रकारहरुले आशंका गरेका थिए । तर, यो प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो प्रश्नको जवाफ भारतले अस्ति नै दिइसकेको छ ।’

वामगठबन्धन बहुमतत आउने पक्का भइरहेका बेला २८ मंसीरमा नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले नयाँ सरकारसँग मिलेर काम गर्न आफू आतुर रहेको बताएको थियो ।

पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रबक्ता रवीश कुमारले भनेका थिए, ‘भारत सरकार नेपालमा लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर छ ।’