राजनीति

देउवाविरुद्ध किन आक्रामक भएनन् दाहाल ? यस्तो छ भित्री रहस्य !

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा वाम गठबन्धनकै दलहरुबीच मत बाझिने संकेत देखिएको छ । आइतबार आयोजित वाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मत बाझिएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकार अब कामचलाउ मात्र रहेको बताउँदै अवैधानिक भैसकेको दाबी गरे भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार अझै वैधानिकनै रहेको दाबी गरे । गठबन्धनका शीर्ष नेताहरुबीचमै देखिएको यो विरोधाभासपूर्ण अभिव्यक्तिले वाम गठबन्धनको भविष्य कता जाने हो भन्नेतर्फ आशंका एकातिर बढेको छ भने अर्कोतिर आगामी नयाँ सरकार कसको नेतृत्व र कस्तो हुने हो भन्नेमा थप अन्योलता बढ्ने देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले देउवा सरकारनै वैधानिक रहेको छ भन्नुले कतै माओवादी केन्द्र र त्यसका अध्यक्षले कांग्रेससँग मिलेर पनि सरकार निर्माण हुनसक्छ भन्नेतर्फ संकेत गरेका त होइनन् भन्ने सम्भावना देखिएको छ । यद्यपि, अहिले भने माओवादी केन्द्र पनि देउवा नेतृत्वको सरकारमै रहेकोले त्यो आधारमा उनले बैधानिकताको कुरा उठाएको हुनसक्ने अनुमान गरिएको छ ।

एमाले र माओवादीका शीर्ष नेताहरुबीच बाझिएको यो मतले कतै भोली मुलुकको सरकार सञ्चालनको राजनीतिक समिकरणनै बदलिने त होइन भन्ने संकेतहरु देखापर्न थालेका छन् । यद्यपि, ओली र दाहाल दुवैले प्रधानमन्त्री देउवाले तत्काल राजीनामा गरेर नयाँ सरकार निर्माण गर्नुपर्ने बताएका छन् । पत्रकार सम्मेलनमा मन्तव्य राखिरहँदा एमाले अध्यक्ष ओली देउवाविरुद्ध पूरै खनिए भने अध्यक्ष दाहालले केही लचकता अप्नाएका थिए ।

दाहालले देउवालाई निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद समेत दिन भ्याएका थिए भने उनका अन्य अभिव्यक्ति पनि देउवाविरुद्ध ओलीका जति आक्रामक थिएनन् । कार्यक्रममा अध्यक्ष ओलीले भने राष्ट्रपति कार्यालयमा पुगेको राष्ट्रियसभा सम्बन्धी अध्यादेश, सरकारले गर्न लागेको राजदूत नियुक्ति र अन्य नियुक्तिका विषयमा चर्को आपत्ति जनाएका थिए ।

ती सबै कुरामा दाहालले समर्थन मात्र जनाएजस्तो देखिन्थ्यो । यसबाट के पुष्टि हुन्छ भने एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनरुपी एकता कुनै न कुनैबेला गएर भत्किन सक्ने देखिदै गएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै शीर्ष नेताहरुबीच मत बाझिनुलाई सामान्य रुपमा लिन सकिदैन । त्यस्तै यी दुई पार्टीबीच देखिएका सैद्धान्तिक मतभिन्नता र सांगठनिक व्यवस्थापनले पनि वाम गठबन्धनको यात्रा सहज छैन भन्ने देखाउँछ ।

दाहाल किन लचिलो हुँदैछन् देउवा सरकारप्रति ?
निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपनि ती दुई पार्टीबीच हुने भनिएको एकता प्रक्रिया अनिश्चित बन्दै गएको छ । पत्रकार सम्मेलनमै एक पत्रकारले सोधेको प्रश्नमा एमाले अध्यक्ष ओलीले ठाडो र कठोर जवाफ फर्काउन भ्याए । पत्रकारले तपाईहरुको पार्टी एकतापछि सरकार र पार्टी नेतृत्वबीचको जिम्मेवारी बाँडफाँडचाहि कसरी मिलाउनुहुन्छ ? भन्ने प्रश्न गर्दा अध्यक्ष ओलीले त्यसप्रति धेरै चासो दिएनन् र कठोर जवाफ फर्काए, ‘अहिले पार्टी एकतानै त भैसकेको छैनन नि, पार्टी एकता नहुन्जेल हामी आ–आफ्नै पार्टीका सग्लासग्लै अध्यक्ष छँदैछौ, भोली एकता भएछ भने त्यही अनुसार जिम्मेवारी बाँडिनेछ ।’

उनले आफुहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत भैसकेकोले त्यो धेरै समस्याको कुरा नभएको संकेत गरे र पार्टी एकताको बारेमा खुलस्त कुरा गर्न चाहेनन् । उनले ‘पार्टी एकता भैहालेछ भने’ भन्ने शब्द प्रयोग गर्नुले पनि एकताप्रति विश्वास गर्ने आधार कमजोर बन्दै गएको प्रस्ट हुन्छ । ओलीको यो बोलीबाट के प्रस्ट हुन्छ भने भोली एमाले र माओवादीबीच पार्टी एकतानै भैहाल्छ भन्ने छैन र यो कुरा माओवादी अध्यक्ष दाहालले प्रस्टै बुझेजस्तो देखिन्छ । त्यसैले दाहाल नेपाली कांग्रेससँगको सुमधुर सम्बन्धलाई तोड्नु हुँदैन भन्नेमा सचेत देखिन्छन् । त्यसकारण पत्रकार सम्मेलनमा पनि दाहाल ओली जसरी आक्रमक रुपमा प्रस्तुत नभएको श्रोतले बताएको छ ।

दाहालले अर्को परिस्थितिलाई पनि ख्याल गरिरहेका छन् । निर्वाचनमा कांग्रेस कमजोर पार्टी रहेनछ भन्ने कुरा समानूपातिकतर्फ आएको मतले प्रमाणित गरिदिएको छ । यदि एमालेले चिढ्याउन खोज्यो भने कांग्रेस र मधेसवादी दलहरुसँग मिलेर सरकार बनाउन सकिन्छ भन्नेमा आफु र देउवाको मत मिल्न सक्ने संकेत दाहालले बुझिसकेका छन् ।

त्यसैले अहिलेको सरकार र त्यसमा रहेका आफ्ना मन्त्रीहरुलाई उनले बैधानिकताको संज्ञा दिइरहेका छन् । भोली कांग्रेसले प्रस्ताव राखेमा आफुलेनै सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आउन सक्ने कुरामा दाहाल निकै सचेत भएको कुरा उनी निकट श्रोतले बताएको छ । त्यसकारण पनि दाहाल देउवाविरुद्ध धेरै आक्रमक नभएको प्रस्टै बुझ्न सकिन्छ ।