शिक्षा

बृहत् शैक्षिक प्रदर्शनीमा कास्की मोडनाइज्ड प्रथम

पोखरा  । दोस्रो बृहत् शैक्षिक प्रदर्शनी एवं १२ औं लोकनृत्य प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमी प्रथम बनेको छ । नेशनल प्याब्सन कास्कीद्वारा आयोजित प्रदर्शनीमा भाषा तथा साहित्य, विज्ञान तथा प्रविधि,  गणित,  सामाजिक शिक्षा र  पूर्व प्रावि गरी पाँच विधा समावेश गरिएकामा सबै विधाको प्राप्त अंकका आधारमा कास्की मोडनाइज्ड एकेडेमी प्रथम बनेको हो ।

प्रतियोगितामा गोर्खा बोर्डिङ स्कुल द्वितीय र अक्सबोर्ड स्कुलले तृतीय स्थान प्राप्त गरे । त्यस्तै छुट्टाछुट्टै विधाअन्तर्गत भाषा तथा साहित्यमा अक्सबोर्ड स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्वितीय, गोर्खा बोर्डिङ स्कुल तृतीय र मर्डिङ ग्लोरी एकेडेमी स्कुल सान्त्वना भए ।

विज्ञान तथा प्रविधितर्फ गोर्खा बोर्डिङ स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्वितीय, त्रिवेणी पब्लिक स्कुल तृतीय र अञ्जुली बोर्डिङ स्कुल सान्त्वना भए । गणिततर्फ अक्सबोर्ड स्कुल प्रथम, कास्की मोडनाइज्ड एकेडेमी द्वितीय, हेम्जा बोर्डिङ स्कुल तृतीय र गोर्खा बोर्डिङ स्कुल सान्त्वना भए ।

सामाजिक शिक्षातर्फ कास्की मोडनाइज्ड एकेडेमी प्रथम, गोर्खा बोर्डिङ स्कुल द्वितीय, अक्सबोर्ड स्कुल तृतीय र अञ्जुली बोर्डिङ स्कुल सान्त्वना भए । कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले प्रदर्शनी सबैको सिकाइ बनेको बताउँदै प्रविधिलाई बढीभन्दा बढी प्रयोग गर्नुपर्नेमा जोड दिए ।

कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले प्रदर्शनी गरेर एन प्याब्सन कास्कीले नमूना प्रस्तुत गरेको उल्लेख गरे । विद्यार्थीबाटै विद्यालय शिक्षाका उद्देश्यमा आधारित विषयगत पाठ्यक्रमअन्तर्गतका स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्मित जीवनोपयोगी निर्माण तथा आविष्कारका सामग्री प्रदर्शनीमा प्रस्तुत गरिएको थियो । गत शुक्रबारदेखि तीन दिनसम्म सञ्चालित प्रदर्शनीमा करिब ५० हजारले अवलोकन गरेको एन प्याब्सनले जनाएको छ ।