पु.समाचार

यसरी प्राप्त गरेका रहेछन् पुष्पकमल दाहालले नयाँ डेरा, विवादमा पर्ने संकेत

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको परिवार एकाएक ललितपुरमा डेरा सरेको छ । एक्कासि डेरा सरेका अध्यक्ष दाहालको परिवार किन लगत्तै ललितपुरको खुमलटार बसाई सर्न पुग्यो भन्ने विषयमा अहिले विभिन्न टिका टिप्पणीहरु पनि भैरहेका छन् । चुनावकै मुखमा पुत्र प्रकाश दाहालको निधनको पीडाले उनले डेरा सरेको अनुमान गरेपनि उनले सरेको घर र त्यसका मालिकका विषयमा समेत अहिले टिप्पणीहरु भैरहेका छन् ।

वास्तवमा यसअघि दाहालले डेरा लिँदा र व्यापारीहरुसँगको उठबसका विषयमा पनि विवादका कुराहरु आइरहन्थे । यो पटक पनि त्यस्तै भएको छ ।  शान्तिप्रक्रियासँगै काठमाडौँ बसाईको सुरुदेखि तत्कालिन नेकपा माओवादीको अध्यक्ष दाहालको जीवनशैली निकै विवादित बन्‍यो । रोल्पा, रुकुममा जनताको झुपडीबाट आएको एउटा क्रान्तिकारी नेताको जीवनशैलीबाट केही सिक्ने अपेक्षा गरेकाहरु निरास भए ।

माओवादीको राजनीतिक उचाइँलाई व्यक्तिसँग जोडेर बद्नाम गर्न बाटो कुरेर बसेका ठूलो भनिएको मिडियाको लागि निकै मशला बन्यो प्रचण्डको जीवनशैली । मिडियाले राजनीति गरेको कुरा दाहाल र माओवादी नेताहरुले बुझ्न सकेनन् । प्रतिवाद गर्न नसक्दा दाहाल प्रधानमन्त्री हुँदा समेत मिडियाले लखेटि नै राखे । मिडियाले युद्ध नीतिअनुसार नै दाहाललाई लखेटेका थिए । त्यतिबेला केही नेताहरु खुशी समेत भए तर माओवादी आन्दोलनमाथि विरोधीले मिडियालाई हतियार बनाएको माओवादी नेताहरुले अनुभूत गर्न सकेनन् । माओवादी आन्दोलनको अहिलेको अवस्था त्यसैको परिणाम हो ।

यसमा दुबैको दोष छ । दाहालबाट जुन जीवनशैलीको जनताले अपेक्षा गरेका थिए त्यो नभएपछि मिडियाले त्यही भावनामा खेले । तर मसला चाहीँ प्रचण्ड वा माओवादी नेताहारुले दिएका हुन् ।

प्रचण्डको व्यक्तिगत जीवनसँग जोडेर माओवादी आन्दोलनमाथि प्रहार गरिएको अर्को घटना हो, लाजिमपाट निवास । त्यतिवेला त्यत्रो घरमा प्रचण्ड बसेको माओवादी कार्यकर्ता र समर्थक तथा शुभचिन्तकलाई मन गरेको थिएन् । त्यो भावनालाई मिडियाले मसला बनायो । मिडियाले नै प्रचण्डले करोडौमा घर किनेको भनिदिएपछि माओवादी कार्यकर्तादेखि जनता आक्रोसित भए ।

पार्टीका हरेजक जसो बैठकहरुमा लाजिमपाट निवासको आलोचना हुन्थ्यो । धेरै पटक छोड्ने वचन दिएपनि माओवादी टुक्राटुक्रा भएर एमालेसँग हात मिलाएपछि मात्रै प्रचण्डले लाजिमपाट छोडे । माओवादी आन्दोलनलाई तितरवितर बनाउन आफ्नो मिसनमा विरोधी मिडियाहरु सफल भए ।

प्रचण्डको नयाँ डेर पनि विवादित हुने भएको छ । चुनावको माहौलमा भुलेका मिडियाले नयाँ सरकार बन्न लागेसँगै यसलाई मसला बनाउन सक्छन् । मंसिरको अन्तिम दिनबाट प्रचण्ड विवादित ठेकेदारको घरमा डेरा सरेका छन् । फाइदाको लागि राजावादी, धेरै काँग्रेसी नेताहरुका ढोकाढोकामा पुगेका ठेकेदार शारदाप्रसाद अधिकारीले प्रचण्डलाई आफ्नो घर उपलब्ध गराएका छन् । उनी माओवादी केन्द्रको समानुपातिक सूचीमा नाम पार्न समेत सफल पनि भएका छन् ।

प्रवक्ता पम्फा भुसालसँग लामो चिनजान भएका अधिकारीले आफूलाई समानुपातिकमा पार्न धेरै प्रभावमा पारेको माओवादी केन्द्रका नेताहरु नै बताउछन् ।

प्रचण्डसँग अधिकारीको चिनजानसँगै गोप्य भेटघाटको व्यवस्थापनमा विवादित व्यापारी अजय सुमार्गीको सिण्डिकेट तोडिएको छ । अब प्रचण्डको गोप्य भेटघाटको जिम्मा दुबै जनाले लिने देखिएको छ । एमालेसँगको चुनावी तालमेलको लागि भएको गोप्य भेटवार्ता अधिकारीले आफ्नै घरमा व्यवस्थापन गरेपछि सुमार्गी चिढिएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको पछिल्लो भेटवार्ताको व्यवस्थापन फेरि सुमार्गीले नै जिम्मा पाएका थिए । अधिकारी सांसद हुन सफल भएभने सुमार्गीभन्दा बलियो बन्ने देखिएको छ ।

ठेकेदार अधिकारीले चुनावी तालमेलको लागि मानभवनमा रहेको आफ्नै घरमा दुबै पार्टीका नेताहरुलाई छलफलको व्यवस्थापन गरेका थिए । अधिकारीकै घरमा एमाले र माकेको चुनावी तालमेल भएको थियो ।

शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका मालिक रहेका अधिकारीले काम समयमा नगर्नेदेखि, मजदूर–कामदारलाई पारिश्रमिक नदिएको गुनासो पहिलेदेखि नै आएको थियो । निर्माण बजेट लिएर उनले धेरै कामहरु समयमा सम्पन्‍न नगरेको भन्दै केही ठाउँमा उजुरी समेत परेका छन् ।

रगत र पसिना बगाएका यति धेरै नेताहरु हुँदाहुँदै पनि एउटा विवादित व्यक्तिलाई माओवादी केन्द्रले समानुपातिक सूचीमा राखेको छ । जुन पार्टीभित्रै विरोध भइरहेको छ ।

प्रतिनिधि सभाको समानुपातिक बन्दसूचीको ३३ नम्बरमा अधिकारीको नाम रहेको छ । यो नाम उनै अधिकारीको हो वा अन्य कुनै व्यक्तिको हो त्यसबारे भने माओवादी नेतृत्वले मुख खोलेको छैन । यद्यपि, डेरा सरिएको घरका मालिक भने तिनै अधिकारी हुन्, जसले माओवादी र एमाले नेताहरुलाई वाम गठबन्धनको बैठकका लागि व्यवस्थापन गरेका थिए ।

उनी माओवादी नेतृ पम्फा भूसालले चुनाव जितेकै क्षेत्र खुमलटारका स्थायी बासिन्दा हुन् । जसले आफ्नो भव्य महलमा माओवादी केन्द्रका अध्यक्ष दाहालको परिवारलाई भित्र्याउन सफल भएका छन् । यदि समानूपातिक कोटामा परेका अधिकारी सांसद भैहालेमा दाहालसँग सम्बन्ध जोडिएका व्यापारी अजय सुमार्गीलाई समेत ओझेल पार्न सक्ने भन्दै समाचारहरु बाहिर आइरहेका छन् ।