स्वास्थ्य

क्षेत्रीय अस्पताल हातामा पार्क निर्माण गरिने

पोखरा । पोखराको रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा रु ४० लाखको लागतमा सुविधासम्पन्न पार्क निर्माण गरिने भएको छ ।

अस्पतालको पश्चिमतर्फ सात रोपनी खाली जमिनमा अन्तर समाज महासंघ समिति नेपालद्वारा निर्माण गरिने सो पार्कमा इन्टरनेट जडित फ्रि–वाइफाइसहित खानेपानी तथा शौचालय, दुबो र फूलका बिरुवा पार्कमा रोपिनुका साथै ४५ वटा बेञ्च र छातासहितको बस्ने चौतारी निर्माण गरिने भएको हो ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रमबीच सो पार्कको शिलान्यास गर्दै पार्कलाई अन्तर जिल्ला स्मारकका रुपमा विकास गरिनु पर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका–११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले पार्क निर्माणमा महानगरपालिकाको वडा नं ११ को पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै पार्कको उचित व्यवस्थापन र संरक्षणको खाँचो औँल्याए ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा नरेन्द्रविक्रम गुरुङले मानव स्वास्थ्यका लागि पार्कको महत्वमाथि चर्चा गरेका थिए ।