राजनीति

चुनाव हारे पनि हिम्मत हारेनन् भुपेन्द्रजंग शाहीले

कालिकोट, १ पुस – नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले दुई पटक चुनावबाट पराजय भए पनि राजनीति भने जितेको बताए । कालिकोटका साढे १६ हजार मतदाताले मत दिएर राजनीतिमा थप हौसला प्रदान गरेको महामन्त्री शाहीले बताए ।

शाही २०७० को संविधानसभाको निर्वाचन र भर्खर सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । २०७० को निर्वाचनको मत भन्दा दोव्बदर मतदाताले आफूलाई मतदान गरेको शाहीले सुनाए । उनले राजनीतिमा स्थायी हार र स्थायी जित नहुने भएकाले पराजयलाई स्वभाविक रुपमा लिएको बताए ।

उनले भने, ‘अबको ५ वर्षसम्म सडक, विद्युत, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विकासका महत्वपूर्ण पूर्वाधारमा नागरिकको प्रत्यक्ष पहुँच पुगाउन राज्यका निकायलाई ध्यानाकर्षण गराउन पहल गर्छु ।’ स्थानीय तहको निर्वाचन भएपछि विकासको गति झनै सुस्ताएकाले अब गाउँ—गाउँमा अनुगमन गरेर खबदारी गराउने महामन्त्री शाहीले बताए । सिंहदरबार गाउँमा आए पनि जनताले सेवा पाएको महसुस नगरेकाले स्थानीय निकायकाले जिम्मेवार भएर काम गर्नु पर्ने उनले बताए ।