राजनीति

यसरकारण माओवादी अध्यक्ष दाहाल डेरा सरेका रहेछन्

काठमाण्डौ । पार्टी एकता र चुनावी तालमेलका लागि एमाले–माओवादी केन्द्रले प्रयोग गर्दै आएको घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  डेरा सरेका छन् । ललितपुर महानगरपालिका–१५ मा रहेको निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरलाई प्रचण्डले शुक्रबार साँझदेखि आफ्नो नयाँ डेरा बनाएका हुन् ।

 

दाहाल डेरा सरेको घरमा चुनावी तालमेल र पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच छलफल हुने गरेको थियो । शैलुङ इन्भेष्टमेन्ट ग्रुप र पावर कम्पनीका अध्यक्ष एबं कार्यकारी निर्देशक रहेका अधिकारी माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सूचीमा छन् ।

तत्काल खुमलटार डेरा सर्नुको कारण चाहिँ बिगत पाँच बर्षदेखि लाजिम्पाटका बस्दै आएको निवासमा छोरा प्रकाशको निधन हुनु हो । यद्यपी, अन्य दुई कारणले पनि दशैं अगाडिदेखि नै प्रचण्डका लागि नयाँ डेरा खोजिँदै थियो । लाजिम्पाट निवासमा जाने बाटो साँघुरो हुनु र घर चुहिन थालेपछि नयाँ डेरा खोजिँदै थियो ।

तर पायक पर्ने ठाउँमा खोजेजस्तो कुनै घर नभेटिएपछि वार्ता भएको अधिकारीको घरलाई नै नयाँ डेरा बनाइएको हो । प्रचण्ड विहीबार साँझ नै त्यहाँ बस्न सुरु गरेपनि त्यसको भाडा भने तय गरिएको छैन । स्रोतले भन्यो, ‘अस्थायी रुपमा मात्र बस्न थाल्नुभएको हो । अनुकूल ठाउँमा अर्को घर फेला प¥यो भने फेरि सर्ने योजना छ ।’