राजनीति

नेपालमा बाम गठबन्धनले जितेपछि दिल्लीमा खैलाबैला, यसरी अघि बढ्दैछ अब भारत !

काठमाण्डौ । नेपालमा भर्खरै सम्पन्न निर्वाचनको विषयलाई लिएर भारतीय राजधानी नयाँ दिल्लीमा गरम बहस सुरु भएको छ । निर्वाचनको मतपरिणाम वाम गठबन्धनको पक्षमा देखिएपछि दिल्लीमा नेपाललाई हेर्ने अबको दृष्टिकोण के हुने भन्ने विषयमा बहस सुरु भएको हो ।

भाजपा नेता नरेन्द्र मोदी नेतृत्वको सरकारले नेपालमा अब बन्ने नयाँ सरकारलाई कुन दृष्टिकोणमा सम्बोधन गर्ला ? त्यो अपेक्षाकै विषय छ तर भारतीय सञ्चारमाध्यामहरुले भने नेपालमा अब बन्ने सरकार कम्युनिष्टहरुको नेतृत्वमा बन्ने र त्यो भारतीय संस्थापन पक्षका लागि सहज नहुने विश्लेषण गर्दै समाचार सम्प्रेषण गरिरहेका छन् । भारतीय सञ्चारमाध्यामहरुले नेपालमा बन्ने अबको सरकार चीनतर्फ ढल्किने समेत विश्लेषण गरेका छन् ।

केही भारतीय सञ्चारमाध्यमहरुले त पाकिस्तान र चीनपछि अब भारतलाई नेपालको पनि तनाव थपिएको भन्दै समाचार टिप्पणीहरु लेखेका छन् । भारतको प्रसिद्ध न्युज पोर्टल ‘नवभारत टाइम्स’ ले भारतलाई अब पाकिस्तान र चीनपछि नेपालको तनाव थपिएको भन्दै समाचार प्रकाशित गरेको छ ।

त्यस्तै अन्य भारतीय सञ्चारमाध्यामहरुले पनि नेपालको पछिल्लो मतपरिणाम, त्यो आधारमा बन्ने नयाँ सरकार र नेपाल–भारत सम्बन्धमा पर्नसक्ने प्रभावको सम्भावित आँकलन गर्दै समाचारहरु लेखिरहेका छन् ।

सञ्चारमाध्यमहरुमा नेपालको सन्दर्भमा समाचारहरुको बाढीनै आउन थालेपछि नयाँ दिल्ली प्रभावित हुनु स्वभाविक हो । दिल्लीमा अहिले नेपालको राजनीतिक परिवर्तन र त्यसले दुई देशबीचमा पार्न सक्ने विषयका बारेमा टिका टिप्पणीहरु सुनिन थालेका छन् ।

नेपालमा सम्पन्न निर्वाचन र त्यसको मतपरिणामबारे भारतले खुलस्त रुपमा कुनै टिप्पणी गरिसकेको त छैन । तर नेपाल–भारत सम्बन्धको विषयमा दख्खल राख्ने केही कुटनीतिज्ञहरुका अनुसार नेपालमा वाम गठबन्धनको पक्षमा आएको मतपरिणामले भारतलाई झस्काउँदैछ । त्यसो त एमाले नेतृत्व र भारतीय संस्थापन पक्षबीच यसअघि पनि टक्कर देखिएको जगजाहेर नै छ ।

अहिले एमालेसँग माओवादी केन्द्र समेत मिलेर नेपाली कांग्रेसलाई हराउने र नेपालमा अब कम्युनिष्ट नेतृत्वको सरकार निर्माण गर्ने अभियानले भारतलाई थप झस्काएको अनुमान गरिदैछ । भारतीय सञ्चारमाध्यमहरुमा आएका टिप्पणीले पनि यसको पुष्टि गर्छ ।

एमाले नेतृत्वमा सरकार बने कस्तो रहला भारतसँगको सम्बन्ध ?
वास्तवमा भारतले प्रजातान्त्रिक अभ्यासका रुपमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्ने गर्छ, यो उसका अघिल्ला व्यवहारले समेत पुष्टि गरिसकेको छ । तर केही वर्षअघि नेपालले जारी गरेको नयाँ संविधानलाई भारतले भित्रैदेखि स्वीकारेको अवस्था छैन । उसले समावेशी संविधान बनाउनुपर्ने सल्लाह नेपाललाई दिँदै आएको छ ।

भारतको तर्क मधेसवादी दलहरुका मुद्धालाई समेत संविधानमा सम्बोधन गर्नुपथ्र्यो तर त्यो हुन सकिरहेको छैन् । मधेसवादी दलहरुले अहिले पनि त्यसका लागि संविधान संशोधनको मुद्धा उठाइरहेका छन् । भारतले मधेसवादी दलहरुको मुद्धालाई सम्बोधन नगरेको भन्दै जारी भएको नेपाली संविधानलाई आत्मैदेखि स्वीकारेको छैन ।

सोही संविधानलाई कार्यान्वयन गर्ने उद्धेश्यका साथ सम्पन्न भर्खरैको निर्वाचनलाई पनि भारतले मनैदेखि स्वागत गर्ने कुरामा शंका गर्न सकिन्छ । त्यसमा पनि अहिले भारतसँगै टक्कर गर्ने एमाले र त्यसको नेतृत्वले बहुमत हासिल गरेको अवस्था छ ।

एमाले नेतृत्वको सरकारसँगको टक्करका कारण ६ महिना नाकाबन्दी झेलेको मुलुकलाई भारतले त्यसैगरी चिढ्याइहाल्ला भन्न त सकिन्न तर कम्युनिष्ट गठबन्धनकै नेतृत्वमा बन्ने सरकारलाई भने भारतले रुचाउँदैन यो सत्य हो, किनभने भारतीय सरकार हिन्दुवादी पार्टी भाजपाका नेता नरेन्द्र मोदीको नेतृत्वमा चलिरहेको छ । हिन्दुवादी दर्शन र कम्युनिष्ट दर्शनबाट उठेका नेताहरुको एउटै आदर्श र विचार पक्कै हुँदैन ।

त्यसैले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भारतीय प्रधानमन्त्री मोदीको दृष्टिकोणनै नमिल्ने विश्लेषकहरु बताउँछन् । त्यसैले पनि नेपालमा बन्ने कम्युनिष्ट नेतृत्वको सरकार चीनतर्फ झुकाव राख्ने हुनसक्ने तर्क भारतको देखिन्छ ।
यसअघि भारतसँग टक्कर पर्दा चीनसँग सामिप्यता गाँसेको एमाले र चिनियाँ नेता माओकै दर्शनलाई मानेर अघि बढिरहेको माओवादी केन्द्र चीनसँग नजिक हुनु स्वभाविक भएपनि यो निकटतालाई भने भारतले अस्वभाविक रुपमा लिने पक्का छ ।

यद्यपि, सबै मुलुकहरु एउटै दृष्टिकोण भएको नेतृत्वबाट चल्न नसक्ने हुँदा त्यहाँ कुटनीतिक समझ्दारीका कुराहरु अघि आएका हुन् र नेपाल–भारतले त्यो बाटो अख्तियार गर्नुपर्छ । कुटनीतिक रुपमा दुवै देशको नेतृत्वबीच समस्या समाधान गर्ने बाटोहरु खोज्नुपर्छ ।

वास्तवमा भारतले पाकिस्तान र चीनलाई जसरी हेरिरहेको छ, त्यो भन्दा अलि फरक ढंगले नेपाललाई हेर्दै आएको छ । चीन र पाकिस्तान आफैमा शक्तिशाली देश हुन् । उनीहरुसँग भारतको त्यही खालको टक्कर हुने गरेको छ ।

नेपालमा भने त्यही खालको सम्बन्ध देखिन्छ । नेपाललाई भने उसले एउटा सानो र कमजोर छिमेकी राष्ट्रको रुपमा हेर्ने गरेको छ, जसलाई जुन ढंगले उपयोग गर्न सकिन्छ, त्यसरी नै उपयोग गर्ने रणनीतिमा भारत देखिन्छ ।

त्यसैले नेपालमा बन्ने अबको नयाँ सरकारलाई पनि भारतले सोही नीति अख्तियार गरेर सम्बन्ध विस्तार गर्न सक्छ । यद्यपि,यस अघिझै एमाले नेतृत्वले पनि पौठेजारी खेल्न खोज्यो भने भारतले एउटा पृथक रणनीति अख्तियार गरेर बामहरुको शक्ति क्षयीकरण गर्न सक्ने समेत आंकलन गर्न सकिन्छ । त्यसको प्रत्यक्ष सिकार एमाले र माओवादी नेतृत्वनै हुन सक्ने राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।