पु.समाचार

एमाले र माओवादीबीचको एकता प्रक्रिया कठिन मोडमा

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सुविधाजनक बहुमत पाएका वाम गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल सरकार गठन एवम् पार्टी एकता टुंग्याउन छलफलमा बसेका छन्।

शनिबारको अन्नपूर्णमा लेखिएको छ, दुवै तहको निर्वाचन परिणाम सार्वजनिक भएपछि गठबन्धनका शीर्ष दुई नेता ओली र दाहालबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएको छ।

राजधानीमा भएको ओली-दाहालको एक घन्टा लामो भेटवार्ता निर्वाचन परिणाम र भावी सरकार गठनमा केन्द्रित रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ओली-दाहालले देउवा नेतृत्वको कामचलाउ सरकारले धमाधम नियुक्ति गरेको विषयमा छलफल भएको थियो।

दुवै नेताले नयाँ सरकार गठनका विषयमा अनावश्यक कानुनी बखेडा झिकेर सरकारले ताजा जानदेशको अवमूल्यन गरेको तर्फ गम्भीरतापूर्वक छलफल गरेका थिए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओली दाहालबीच सरकार गठन र पार्टी एकता केही दिनभित्रै टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको जानकारी दिए।

पार्टी एकता कठिन
एमालेका एक नेताले भने, ‘दुई पार्टीबीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति मात्र भएको छ। तर, दुवै पार्टीका कमिटी एकै बनाउने, राजनीतिक दस्तावेज तयार पार्नेलगायत प्राविधिक काममा यी दुई पार्टीबीच छलफल भइसकेको छैन।

मोटामोटी रूपमा दुवै पार्टीका अध्यक्षहरू कार्यकारी भूमिकामा रहने भने पनि त्यसको ठोस निर्णय भएको छैन। यस्तो अवस्थामा सरकार गठन अगावै पार्टी एकता हुने कुरा कठिन छ।