पु.समाचार

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नीतिगत सुधारको खाँचो

काठमाडौँ । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत संरचनामै सुधार गरिनुपर्ने खाँचो औंल्याइएको छ ।

आप्रवासन दिवसको अवसरमा पिपुल फोरमले आज यहाँ आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी विषयक अन्तरक्रियामा सहभागी वक्ताले आप्रवासी कामदारको सुरक्षित गन्तब्य प्रवद्र्धनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराए।

फोरमका सल्लाहकार एवं अधिवक्ता सोम लुईंटेलले वैदेशिक रोजगारीलाई सुरक्षित तुल्याउन नीतिगत सुधारदेखि चेतना अभिवृद्धिका अभियानलाई प्रभावकारी बनाइनुपर्ने बताए ।

सरकारले वैदेशिक रोजगार ऐन संशोधनको तयारी गरेको र अहिले श्रम मन्त्रालयबाट प्राविधिक रायको लागि कानून मन्त्रालयमा पुगेको जानकारी दिँदै उनले यसले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अधिवक्ता नरेन्द्र खनालले वैदेशिक रोजगारीका लागि जाने कामदारलाई कसरी सुरक्षित बनाउने भन्नेबारे ग्रामीण तहसम्म सचेतनात्मक कार्यक्रम लैजानुपर्ने खाँचो औँल्याए ।

पत्रकार सुनिल न्यौपानेले ‘सुरक्षित वैदेशिक रोजगारीका लागि सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारीका बिकृतजन्य विषय मात्र नभई राज्य र सरोकारभएका निकायको ध्यान खिच्ने गरी कामदारको संवेदनशीलतालाई ख्यालमा राखेर समाचार सम्प्रेषण हुनुपर्नेमा जोड दिए ।

श्रम स्वीकृति लिएर जानेको संख्या हाल ५० लाख रहेको छ । राष्ट्रिय योजना आयोगका पछिल्लो विवरणअनुसार नेपालबाट वार्षिक पाँच लाखको हाराहारीमा वैदेशिक रोजगारीमा जाने गरेको छ ।