अन्तर्राष्ट्रिय

राष्ट्रपति निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने दाबी विरुद्ध ट्रम्पको सफलता : पुटिन

मस्को, रसिया । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मस्कोको हस्तक्षेप रहेको भनी आएका समाचार खण्डन गर्ने बिषयमा ‘महत्वपूर्ण सफलता’ पाएको बताएका छन्।

विहीबार बृहत् बार्षिक प्रेस सम्मेलनमा बोल्दै रसियाली नेता पुटिनले भने, “अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकाल सम्हालेको छोटो समयमा नै विल्कुल सफलता पाउनुभएको छ ।”

पुटिनले अमेरिकी राष्ट्रपतिको कामको मुल्याङकन गर्न सोधिएको प्रश्नमा भने, “हेर्नुस अमेरिकी बजार कसरी प्रतिक्रिया जनाइरहेका छन्, तिनीहरू दिन प्रतिदिन सम्वृद्धितर्फ अघि बढेका छन् । यसले अमेरिकी अर्थतन्त्र विकासमा भरोसा थपिएको देखाएको छ । यी बस्तुगत तथ्य हुन् ।”

गत बर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको पक्षमा नतिजा ल्याउन मस्कोको हस्तक्षेप रहेको भन्ने आरोपको खण्डन गर्दै रसियाली नेता पुटिनले भने, “यो सबै अमेरिकी प्रतिपक्षले ह्वाइट हाउसमा ट्रम्पका कामलाई बदनाम गर्न रचिएका बनावटी आरोपमात्र हुन् ।”

पुटिनले ट्रम्पको समूह र रसियाली प्रतिनिधिबीचको भेटलाई सामान्य कुटनीतिक अभ्यास भन्दै प्रतिप्रश्न गरे, “यो मुद्दा किन नियम विपरित बनाइएको छ अथवा किन यसलाई जासूसीकरण गरिएको म त बुझ्नै सक्दिन ।”

मस्को रेडियो स्टेसनले किन उनले पुनः निर्वाचित हुन चाहेको भन्ने प्रश्नबाट शुरु भएको सम्मेलनमा उहाँले रसियाली जनताको जीवनको स्तरन्नोतिका लागि आफूले यसपटक पनि निर्वाचनमा जान चाहेको बताए ।

उक्त अवसरमा पुटिनले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी यस अघि उनी निर्वाचित बनेको यूनाइटेड रसिया पार्टीका तर्फबाट नदिने तर स्वतन्त्र उम्मेदवारका रूपमा रहने बताए ।

निर्वाचनमा प्रतिपक्षीको अवस्था कहाँ हुनेछ भनी गरेकोे प्रश्नमा पुटिनको प्रतिस्पर्धी नदेखिएको तर विजयको पक्कापक्की रहेको बताइएको थियो ।

पुटिनले भने, “म आँफैले प्रतिपक्ष खडा गर्ने कुरा होइन । तर राजनीतिमा अर्थतन्त्रमा जस्तै प्रतिस्पर्धा हुनुपर्छ । म यो चाहन्छु ।”

बुधबार एक स्वतन्त्र निर्वाचन सर्भेक्षक लेभाडाले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा ७५ प्रतिशत रसियालीले आगामी मार्चमा हुने निर्वाचनमा पुटिनलाई मतदान गर्ने देखिएको बताइएको छ ।

पुटिन सन् १९९९ देखि सत्तामा रहँदै आएका छन् । यदि यो कार्यकालमा पनि उहाँ निर्वाचित भएमा रसियाली इतिहासमा जोसेफ स्टालिनपछिका सवैभन्दा लामोसमय सत्ता सम्हाल्ने नेता हुनेछन् ।