स्वास्थ्य

तीन सय शैयाको क्यान्सर अस्पताल निर्माण शुरु

सुरुङ्गा । झापामा तीन सय श्ययाको अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल बन्ने भएको छ । रु दुई अर्ब ५० करोडको लागतमा विर्तामोडस्थित बिएण्डसी अस्पतालको हाताभित्र छुट्टै क्यान्सर अस्पताल बन्न लागेको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको नामबाट सञ्चालनमा आउन लागेको सो अस्पतालको आज आयोजित एक समारोहबीच विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गरे । अस्पतालको भवन निर्माण छ महिनाभित्र सम्पन्न गर्ने कार्यकारी निर्देशक प्रसार्इंले बताए ।

नेपालमा क्यान्सरका रोगी दिन प्रतिदिन बढ्दै गएको र बिरामीलाई सहजरुपमा सेवा दिन झापामा क्यान्सर अस्पताल बनाउन शुरु गरिएको डा वीरेन्द्रकुमार यादवले बताए । उनका अनुसार ७० देखि ८० प्रतिशत क्यान्सरका रोगीलाई ‘रेडिएसन’को आवश्यकता पर्दछ ।

यसअघि बिएण्डसी अस्पतालले क्यान्सरका रोगीलाई रेडिएसन बाहेकका सेवा प्रदान गर्दैआएको छ । पन्ध्र कठ्ठा जमिनमा निर्माण शुरु भएको अस्पतालले पूर्वाकासहित भारतका पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने बताइएको छ ।