कृषि

टनेलप्रति किसानको आकर्षण बढ्दै

दार्चुला– पछिल्लो समय जिल्लाका अधिकांश किसान टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् । खुल्ला रुपमा भन्दा टनेलमा बढी तरकारी उत्पादन हुने भएका कारण किसान त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।

उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सजिलो हुने भएकाले किसानलाई टनेलभित्र तरकारी खेती गर्न सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) का टिम लिडर अशोक ओझाले जानकारी दिए ।

“टनेलभित्र उत्पादन बढी हुँदा आकर्षण बढ्दै गएको छ,” ओझाले भने । सिआरडिएसको पहल कार्यक्रमअन्तर्गत अहिले जिल्लाका भगवती, मालिकार्जुन, रिठाचौपता, बोहोरीगाउँ र खरकडामा कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जनसम्बन्धी काम भइरहेको छ । कार्यक्रम लागू भएका ठाउँमा किसान समूहमार्फत संस्थाले तरकारी खेती, बेर्ना उत्पादनलगायत सहयोग गरिरहेको ओझाले बताए ।

विसं २०४९ मा स्थापना भएको (सिआरडिएस)ले अहिले जिल्लाका विभिन्न ठाउँमा विकास निर्माणलगायत समाज परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ । पहल कार्यक्रमले तरकारीको बीउ तथा टनेल सहयोग गरेपछि आफूहरु व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । किसानले अहिले विशेषगरी गोलभेँडा खेती गरिरहेका छन् ।

गाउँमै प्रतिकिलो रु ५० मा गोेलभेडा बिक्री हुन थालेपछि किसान हर्षित भएका छन् । पहल कार्यक्रमले खाद्य असुरक्षा भएका ठाउँमा कृषि क्षेत्र सुधार, कृषि बजार प्रवद्र्धन, पोषण तथा सरसफाइ, विपद् जोखिम व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, वित्तीय सेवालगायत क्षेत्रमा काम गर्दै आएको छ ।