खेलकुद

श्रीलंकालाई हरायो भारतले

एजेन्सी ।  श्रीलंकासँगको दोश्रो एकदिवसीय क्रिकेटमा भारत १ सय ४१ रनले विजयी भएको छ ।  भारतको चण्डिगढमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोलीले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५१ रन मात्रै बनाएपछि भारत विजयी भएको हो ।

श्रीलंकाका लागि एन्जेलो म्याथुजले १ सय ११ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन । भारतका युवचन्द्र चाहलले ३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको दोहोरो शतकको मद्दतमा ३ सय ९३ रन बनाएको थियो । शर्माले आफ्नो तेश्रो दोहोरो शतक बनाउने क्रममा १ सय ५३ बल खेलेर १३ चौका र १२ छक्कासहित २ सय ८ रन बनाएका थिए । यस्तै श्रेयास आयरले ८८, शिखर धवनले ६८ रनको योगदान दिए ।

जितसँगै भारतले श्रीलंकासँगको तीन खेलको एकदिवसीय श्रृङ्खला बराबरीमा ल्याएको छ । यसअघि पहिलो एकदिवसीयमा श्रीलंका विजयी भएको थियो । अब यी दुईबीचको निर्णायक र तेश्रो एकदिवसीय क्रिकेट आइतबार विशाखापटनममा हुनेछ ।