पु.समाचार

सुनसरीमा यसरी बाजी मारे विजयकुमार गच्छदारले

धरान । सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता विजय गच्छदार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एमालेकी भगवती चौधरीलाई ३ सय २१ मतले पछि पार्दै गच्छदार यही क्षेत्रबाट छैटौं पटक निर्वाचित भएका हुन्।

मत गणनाको सुरुदेखि नै एमालेकी भगवती चौधरी भन्दा कम मत ल्याएर पछी परेका गच्छदारले बुधबार बिहानबाट मात्र अग्रता लिएका थिए। गच्छदार ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्वी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन्। गच्छदार २०४८, २०५१ र २०५६ सालको मध्यावधि निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट विजयी बनेका हुन्।

गच्छदार नेपालको राजनीतिमा सबै भन्दा शक्तिशाली थारु समुदायको नेताको रुपमा परिचित छन्। गच्छदारले २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरीलाई झिनो मत अन्तरले पराजित गरेका थिए। विजयी भएपछी गच्छदारले आफूले विगतदेखि नै सुनसरीको विकास निर्माणमा अतुलनीय योगदान गरेका कारण जनताले विजयी गराएको बताए। उनले मतदाताको मतको उच्च कदर गर्दै सुनसरीको विकासका लागि आफू सदैब लागिरहने प्रतिबद्धता समेत जनाएका छन्।

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीले भने गच्छदारले राज्यको शक्ति दुरुपयोग गरी आफूलाई पराजित गरेको आरोप लगाएकी छिन्। उनले प्रहरी र क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभुषण घिमिरेले गच्छदारलाई जिताउन षड्यन्त्र गरेको आरोप लगाउँदै कानुनी उपचारका लागि अदालत जाने बताएकी छिन्।