राजनीति

यी हुन् यो पटकको चुनावमा विजयी भएका आधा दर्जन भाग्यमानी पूर्व-प्रधानमन्त्रीहरु !

काठमाण्डौ । नयाँ संविधान जारी भएपछि पहिलोपटक सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशका ठुला पार्टीबाट प्रधानमन्त्री बनिसकेका करिब आधा दर्जन शीर्ष नेताहरुले चुनाव जितेका छन् । वर्तमान प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवादेखि पूर्वप्रधानमन्त्रीहरु सम्मले भारी मतका साथ चुनाव जितेका हुन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट भारी मतका साथ चुनाव जितेका छन् । उनी यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका कांग्रेसका पहिलो नम्बरका नेता हुन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि भारी मतका साथ चुनाव जितेका छन् । अध्यक्ष ओलीले झापाबाट चुनाव जितेका हुन् । पछिल्ला वर्ष राष्ट्रियताको सवाल लगायत विकास निर्माणका विषयमा समेत खुल्ला रुपमा बहस उठान गर्दै आएका अध्यक्ष ओलीलाई जनताले मन पराएका छन् । त्यसकारण पनि उनले राम्रो मत ल्याउन सफल भएका छन् ।

त्यसैगरी पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि चितवनबाट चुनाव जितेका छन् । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेसँग भएको प्रतिस्पर्धामा अध्यक्ष दाहालले चुनाव जितेका हुन् । ओली र दाहाल वाम गठबन्धनको नेतृत्व गर्ने नेताहरु समेत हुन् ।

उता, पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका बाबुराम भट्टराईले पनि यो पटकको चुनाव जितेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगको कडा टक्करका बीच भट्टराईले चुनावमा बाजी मारेका हुन् । गोरखा–२ बाट चुनाव लड्ने विषयमा विवाद भएपछि संयोजक भट्टराईले बाम गठबन्धनसँगको सहकार्य तोड्दै नेपाली कांग्रेससँग चुनावी तालमेल गरेका थिए । कांग्रेससँगको तालमेल र आफ्नो व्यक्तिगत प्रभावका कारण पनि पूर्वप्रधानमन्त्री भट्टराईले चुनाव जित्नुभएको अनुमान गर्न सकिन्छ । यद्यपि, राष्ट्रिय मुद्धामा ढुलमुलेपन देखिए पनि गोरखामा भने जनताले बाबुरामलाई अहिले पनि लोकप्रिय मत दिएको भने सत्य हो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले पनि प्रतिनिधिभा सदस्यतर्फको चुनाव जितेका छन् । काठमाण्डौ–२ बाट उम्मेद्वार रहेका नेता नेपालले पनि राम्रो मतका आधारमा चुनाव जितेका हुन् । गृहजिल्ला रौतहटमा अघिल्लो स्थानीय चुनावमा एमाले क्लिन स्वीप भएपनि सोही जिल्लाबाट राजनीतिक उचाई लिएका नेता नेपालले काठमाण्डौबाट भने चुनाव जितेका हुन् । यसअघि गृहजिल्ला रौतहट र काठमाण्डौबाटै चुनाव लड्दै आएको नेता नेपालले यो पटक भने काठमाण्डौलाई मात्र रोजेका थिए । नेता नेपालको समुह एमालेभित्र अल्पमतमा पर्दै गएको देखिएपनि उनको लोकप्रियता भने बढिरहेको देखिएको छ ।
त्यसैगरी पूर्वप्रधानमन्त्री एवम् एमालेका बरिष्ठ नेता झलनाथ खानलले पनि यो पटकको निर्वाचनमा विजय हासिल गरेका छन् । यसअघि एमाले अध्यक्ष र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका नेता खनाल इलामबाट निर्वाचित भएका हुन् । उनलाई पनि लोकप्रिय मत खसेको छ ।

इलामबाट एमालेका दुई प्रभावशाली नेताले चुनाव लडेका थिए । नेता खनालसँगै पूर्व सभामूख सुवास नेम्वाङले पनि सोही जिल्लाबाट चुनाव जितेका हुन् । नेम्वाङले पनि इलामबाट राम्रो मतका आधारमा चुना जितेका छन् ।
पूर्वप्रधानमन्त्रीहरुले चुनावमा जिते पनि पूर्व उपप्रधानमन्त्रीहरुको हकमा भने त्यो कुरा लागू भएको देखिएन । पूर्व उपप्रधानमन्त्रीहरुमा भने केहीले चुनाव जितेका छन् भने केहीले हारेका छन् ।