आर्थिक

सहकारीको अन्तर्राष्ट्रिय महिला गोष्ठी शुरु

काठमाडौँ । अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्रको आयोजनामा सहकारी व्यवसायमा महिलाको भूमिका वृद्धिसम्बन्धी चारदिने गोष्ठी मंगलबारदेखी शुरु भएको छ ।

‘लैंगिक समानता हासिल गर्ने र सबै महिलालाई अभिप्रेरणा’ भन्ने दिगो विकास लक्ष्यको पाँचौँ लक्ष्यलाई केन्द्रमा राखेर गोष्ठी आयोजना गरिएको आयोजकले जनाएका छन् । गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले नेपालको सहकारी क्षेत्रमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको बताए ।

उनले नेपालको संविधान २०७२ ले सम्पूर्ण क्षेत्रमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको भन्दै ‘दक्षिण एशियामा महिलाको सवालमा नेपाल अगाडि रहेको र नीति निर्माण तहमा अझै महिलाको सहभागिता वृद्धि गर्नुपर्ने देखिएको बताए ।

अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड मेम्बर तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले नेपालको सहकारीमा महिलाको उत्साहजनक सहभागिता रहेको भए पनि नेतृत्व तहमा भने न्यून रहेको बताए । उनले समान रुपमा सम्पूर्ण क्षेत्रमा महिलाको सहभागिता बढाएर विश्वमा उदाहरण बन्नुपर्ने धारणा राखे ।

राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव रघुराम विष्टले नेपालमा महिला सशक्तीकरणका लागि भएका विविध कार्यक्रम, सहकारीको वर्तमान अवस्था र दिगो विकास लक्ष्यको पाँचौँ लक्ष्य प्राप्तिका लागि आगामी योजनाको विषयमा चर्चा गरे ।

कार्यक्रममा भुटानकी चित्रामाया कामी, माल्दिभ्सकी जुल्फा आदम, राष्ट्रिय सहकारी महासंघकी नायब महाप्रबन्धक चित्राकुमारी सुब्बा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देशभरिका ६० भन्दा बढी नेतृत्व तहमा रहेको महिला सहकारीकर्मी र दक्षिण एशियाली मुलुकका प्रतिनिधिको सहभागिता रहेको छ ।