राजनीति

एमालेलाई जिताउन भूमिका खेलेको भन्दै कांग्रेस नेता जोशीलाई कारबाहीको सिफारिस

दमौली, तनहुँ । नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

निर्वाचनमा विपक्षीलाई सहयोग पु¥याएको भन्दै आज बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले उनलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि काँग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो ।

जोशीले वागी उम्मेदवार हाल्दा प्रस्तावक र समर्थक बसेका अरु दुईजनालाई समेत कारबाहीका लागि सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मी आचार्यले बताए ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नं। १ वाट वागी उम्मेदवारी दिने जोशी तथा उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।

एमाले कार्यकर्ताको आक्रमणमा दुई घाइते

तनहुँको भिमाद बजारमा विजय जुलुस मनाउने क्रममा एमाले कार्यकर्ताको आक्रमणमा परी दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा राजु श्रेष्ठ र इलाका प्रहरी कार्यालय भिमादका प्रहरी हवल्दार प्रह्लाद गिरी रहेको सोही इलाकाका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक लालबहादुर क्षेत्रीले बताए ।

सोमबार राति विजय जुलुस मनाउँदै गरेका एमालेका बुद्धि श्रेष्ठलगायतका कार्यकर्तासंग विवाद भएपछि उनीहरूमाथि आक्रमण गरेको बताइएको छ । आक्रमणबाट श्रेष्ठको शरीरमा गहिरो चोट लागेको र प्रहरी हवल्दार गिरीको बाया हातको बुढी औँला फ्याक्चर भएको छ ।

समानुपातिकतर्फ कांग्रेस अगाडि

तनहुँमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना कार्य तीव्र पारिएको छ ।

तनहुँमा आज अपराह्नसम्म ५८ हजार ८३१ मत गणना हुँदा कांग्रेसले २५ हजार १९४, नेकपा एमालेले २४ हजार ५२० र माओवादी केन्द्रले तीन हजार २९ मत प्राप्त गरेको बताइएको छ ।