पर्यटन/संस्कृति

हनुमानढोका दरबार परिसर पुनःनिर्माणको काम तीव्र

काठमाडौँ । विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनःनिर्माणले तीव्रता पाएको छ ।

विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो ।

दरबार परिसरभित्र रहेको नौतले दरबार, गद्धी बैठक, स्वेत भैरव, तलेजु भगवती, आगंमछे (नयाँ देवता राख्ने स्थान), माजुदेग, कृष्णमन्दिर, जगन्नाथ, गोपीकृष्ण मन्दिरलगायतका सम्पदा निर्माणको काम भइरहेको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका संग्रहालय अधिकृत जयनारायण कार्की स्वदेशी तथा विदेशी सहयोगमा परिसरभित्रको सम्पदा निर्माणको काम भइरहेको बताउछन् । “संग्रहालय अवलोकन कार्य बन्द गरेर परिसरभित्रका सम्पदा निर्माणको कामलाई तीव्रता दिएका छौँ,”– उनले भने ।

यी मध्ये नौतले दरबार चीन, गद्धी बैठक अमेरिका, आगंमछे जापान तथा जगन्नाथ र गोपीकृष्ण मन्दिर युनेस्कोको सहयोगमा निर्माण भइरहेको छ ।

यसैगरी, काठमाडौँ उपत्यका संरक्षण कोषको सहयोगमा शिवालय र लक्ष्मीनारायण मन्दिर निर्माण कार्य सम्पन्न भइसकेको छ ।

यस्तै, पुरातत्व विभागको सहयोगमा यहाँ रहेका स्वेत भैरव, तलेजु भवानीको छाना, त्रैलोक्यमोहन, माजुदेग मन्दिर निर्माण भइसकेको र कृष्ण मन्दिर, कागेश्वरी र सरस्वती मन्दिर निर्माण कार्य भइरहेको छ ।

अड्डाका अधिकृत कार्की संग्रहालयलगायत अन्य सम्पदाको निर्माणका लागि पनि विदेशबाट सहयोग आउनेक्रम जारी रहेको बताउछन् । दरबार परिसरमा छिर्न चाहने विदेशी र सार्क मुलुकका पर्यटकलाई काठमाडौँ महानगरपालिकाले क्रमशः रु एक हजार र २५० लिँदै आएको छ भने नेपालीका लागि अड्डाले रु ३० लिँदै आएको छ ।

अड्डाले भूकम्पपछि दरबारको बाहिरी भाग हेर्न जान चाहने नेपालीलाई रु ३० को टिकट दिएर परिसरको अवलोकन गर्न दिएको छ ।