राजनीति

मनाङ्गे र लामा जस्ता डनलाई किन दिन्छन् राजनीतिक दलहरु आश्रय !

काठमाण्डौ । नेपालका राजनीतिक दलहरुभित्र फस्टाएको एउटा पृथक र फाहोरी दृष्य हो गुण्डागर्दी र त्यसको नेतृत्व गर्नेलाई प्रोत्साहन । अधिकांश राजनीतिक दलहरुभित्र युवा परिचालन गर्ने नाममा डनहरुको बिग्बिगी रहेका समाचार बाहिर आइरहेका हुन्छन् । दलहरुले पनि चुनाव र अन्य विविध कार्यक्रमका लागि डनहरुलाई भित्री रुपमा पालनपोषण गर्ने गरेको पाइन्छ । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि केही डनहरुले दिएको उम्मेद्वारीले निकै चर्चा पायो । मनाङबाट उम्मेद्वारी दिएका राजिव गुरुङ (दिपक मनाङे) ले भने चुनाव जितिसकेका छन् । अब उनलाई राज्यले संरक्षण दिनुपर्छ ।

 

उनलाई डनको नजरमा हेर्ने राज्य र समाजले अब माननीय सांसदको पोगरी गुथाउनैपर्छ, किनभने उनी जनताबाट निर्वाचित जनप्रतिनिधि भैसकेका छन् । यसअघि राज्यलेनै अपराध गर्नेहरुको सूचीमा राखेर डनको उपमा पाएका मनाङेले अब मुलुकको नयाँ संविधान कार्यान्वयनका लागि बहस गर्नेछन् । सुरुमा एमालेबाट टिकट पाएपनि पछि उक्त पार्टीले सो टिकट फिर्ता लिएको थियो । पछि मनाङे आफै स्वतन्त्र उम्मेद्वार उठेका थिए । अन्ततः उनले चुनाव जितेका छन् ।

त्यस्तै, डन गणेश लामाले पनि यो चुनावमा उम्मेद्वारी दिएका थिए । केही समय अघिसम्म विजय गच्छदारको फोरम लोकतान्त्रिकमा रहेका लामा उक्त पार्टीको नेपाली कांग्रेसमा बिलयसँगै कांग्रेस बनेका थिए । चुनावमा लामाले कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका थिए । काभ्रेपलाञ्चोकबाट उम्मेद्वारी दिएका लामाले चुनाव त जित्न सकेनन्, तैपनि डनको उपामा पाएका उनको उम्मेद्वारीले राजनीतिमा डन प्रथा मौलाएको प्रस्टै देखिन्छ । यदि लामाले पनि चुनाव जितेका हुन्थे भने दिपक मनाङेसँगै लामाले पनि संविधान कार्यान्यवनको बारेमा बहस चलाउँथे । संसदमा २ जना डनको प्रवेश हुन्थ्यो । विजय गच्छदारसँगै कांग्रेस प्रवेश गरेका लामाको विषयमा बेला–बेलामा विवादका समाचारहरु समेत आउने गर्छन् । यद्यपि, लामाले आफुलाई डनको उपमा राज्य र मिडियाहरुले मात्र दिएको बताउँदै आएका छन् । उनले आफुलाई डन होइन साहासी युवाको रुपमा बुझ्ने गरेका छन् ।

किन संरक्षण दिन्छन् दलका नेताहरुले डनलाई ?
केही वर्षअघि प्रहरीको इन्काउन्टर डन दिनेश अधिकारी चरीको मृत्यु भयो । सो विषयलाई लिएर एमालेभित्र निकै खैलाबैला चल्यो । धादिङका युथफोर्सका नेता समेत रहेका डन चरीको मृत्युअघि उनलाई एमाले अध्यक्ष ओलीले भेटेको समाचार बाहिर आएको थियो । समाचार मात्र होइन,अस्पतालमा गएर भेटेको भिडियो समेत सार्वजनिक भएको थियो । पछि चरीको मृत्युपछि ओलीले दिनेश अधिकारी भन्ने व्यक्ति आफुले नचिन्ने अभिव्यक्ति दिएपछि सो समाचारले चर्चा पाएको थियो । वास्तवमा चरीलाई एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेले संरक्षण दिएका थिए । धादिङका नेता पाण्डेकै संरक्षणमा अधिकारी डन बने, पछि प्रहरी इन्काउन्टरमा उनको मृत्यु भयो ।

त्यस्तै केही वर्षअघि प्रहरी कार्वाहीमा मारिएको चर्चित डन घैंटेलाई पनि नेपाली कांग्रेसले संरक्षण दिएको खबर आउने गर्थे । विशेषगरी कांग्रेस नेता अर्जुनरसिंह केसीको संरक्षणमा रहेका भनिएका घैंटको मृत्युले पनि राजनीतिक वृत्तमा समेत तरंग ल्याएको थियो । यसरी अहिले पनि केही डनहरु राजनीतिक संरक्षणमै रहेका कारण उनीहरुले गर्ने अपराधका घटनाहरु राजनीतिक रुपमा अनुमोदन हुने गरेका छन् । राजनीतिक नेताहरुको संरक्षणका कारण कतिपय डनहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गर्न सकेको छैन । यसले प्रहरी प्रशासनलाई चूनौती मात्र दिएको छैन, मुलुकको नेतृत्व गर्ने राजनीतिक शक्तिलाई समेत बदनाम गराउँदै लगेको देखिन्छ ।