पु.समाचार

न्यायाधीश पैसामा बिकेको आरोपसहित ९२ वर्षीया वृद्धाको यस्तो आयो उजुरी

काठमाडौं । ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन ।

आफ्नो स्वामित्व कायम हुने ललितपुर इमाडोलको जग्गालाई हकदावी नै नपुगेका र कानुनी आधार नै नभएका व्यक्तिको नाममा ती न्यायाधीशले हक स्थापित गरिदिएपछि फैसलामा न्यायाधीशबाट गम्भीर त्रुटि भएको दाबीसहित आशामाया गोर्खाली श्रेष्ठले उजुरी दिनुभएको हो ।

ललितपुर जिल्ला इमाडोलको ८ क कि. नं ६९ को एक रोपनी जग्गाको स्वामित्व विवादमा चलेको मुद्दामा २०७२ चैत ३० गते गरिएको निर्णयमाथि ललितपुर जिल्ला अदालतका न्यायाधीश ओम प्रसाद अर्यालविरुद्ध उजुरी परेको हो ।

काठमाडौँ चिकंंमुगल वडा न २० बस्ने आशामायाले ललितपुर जिल्ला अदालतले २०७२ चैत ३० मा विपक्षीका सम्पूर्ण रूपले बनावटी र सिर्जित लिखतलाई आधार मानी वादीलाई जसरी पनि हराउने नियतले कानुनी व्याख्यामा समेत जानाजानी गम्भीर त्रुटि गरेको आरोप आफ्नो उजुरीमा लगाउनुभएको छ । जग्गा दर्ताका लागि २०६६ भदौ १९ गते दिएको निवेदनमाथि मालपोत कार्यालयबाट कुनै कार्वाही अघि नबढाइए पछि दोस्रो चोटि २०७० मङ्सिर २५ मा निवेदन दिएकामा उक्त जग्गा राम बहादुर बाबुका छोरा काठमाडौं महानगरपालिका वडा नं १३ निवासी ५७ वर्षीय नरोत्तम बाबुको नाममा २०६८ चैत्र ३ को निर्णयले दा। खा। नामसारी भइसकेको जानकारी पाएपछि स्तब्ध बन्नुभएका आशामाया अदालत गुहार्न पुग्नुभएको थियो ।