राजनीति

बाम गठबन्धनबाट प्रधानमन्त्री को बन्ने भन्ने टुंगो लागेको छैन : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘ले जनताले वाम गठबन्धनलाई चुनौतीसहितको अभिभारा दिएको बताएका छन् ।

बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै दाहालले जनताले अब समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताए ।

उनले अब देश समृद्धितर्फ अघि बढेको बताए । वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने अध्यक्ष दाहालको भनाइ थियो । उनले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको बताए ।

सरकार गठन अघिनै नेकपा (एमाले) र (माओवादी केन्द्र)बीच पार्टी एकताको पहल हुने दाहालले बताए । आफू काठमाडौं फर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग्याउने उनले बताए ।

उनले भने– “पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस्, यो आशंका इतिहास बन्छ ।” अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उनको भनाइ थियो ।

ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने उनले बताए ।