राजनीति

रुपन्देही–४ मा काँग्रेसका यादब भारी मतका साथ विजयी

बुटवल । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देही क्षेत्र नं ४ को अन्तिम परिणाम आज सार्वजनिक भएको छ ।

अन्तिम परिणामअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सो क्षेत्रमा ६७ हजार ८३५ मत खसेकामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रमोद यादवले ३१ हजार ७१८ र उनका प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लले २० हजार ४१६ मत पाएका छन् ।

सो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभा(क) मा काँग्रेसका अष्टभुजा पाठक नौ हजार ६४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका अजरत अलीले चार हजार ६३६ मत पाएका छन् ।

यस्तै प्रदेशसभा ‘ख’ मा काँग्रेसका बसीउद्दिन खाँ १२ हजार ११३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँनका निकटतम प्रतिद्वन्द्वी राजपाकै श्रीनिवास यादवले तीन हजार १२० मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ का प्रदेशसभाका दुवै क्षेत्रको मतगणना परिणाम सम्पन्न भए पनि प्रतिनिधिसभाको गणना भने जारी छ । पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य पूर्वमन्त्री छविलाल विश्वकर्मा अगाडि छन् ।